पीसीआर परीक्षण गराउनै सकस
धनगढी, वैशाख २० : धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा कोरोना परीक्षण गराउन चाहनेको सोमबार बिहानैदेखि लामो लाइन थियो । हल्का ज्वरो र टाउको...
धनगढी, वैशाख २० : धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा कोरोना परीक्षण गराउन चाहनेको सोमबार बिहानैदेखि लामो लाइन थियो । हल्का ज्वरो र टाउको दुख्ने जस्ता समस्या देखिएपछि कोरोनाको नमूना परीक्षणका लागि नाम दर्ता गर्ने भन्दै सर्वसाधारण त्यहाँ आएका थिए । भीडभाडले आफूमा कोरोना संक्रमण हुने भन्दै कतिपय व्यक्ति नमूनाका लागि नाम दर्ता नगरी फर्किइरहेका थिए ।
लामो लाइन देखेर अस्पताल परिससरमा सुरक्षा व्यवस्थापनमा खटिएका अस्पतालका एक कर्मचारीले भने, ‘पीसीआर जाँचका लागि पचास जनाभन्दा बढीको नाम दर्ता हुँदैन, लाइनमा बस्नेले मात्र नाम दर्ता गराउन पाउँछ ।’
लाइनमा नबस्नेले नाम दर्ता पनि गर्न नपाउने भनेपछि नमूना परीक्षणका आएका स्थानीयले अस्पताल प्रशासनले नमूना परीक्षणलाई व्यवस्थिन बनाउन नसक्दा समस्या भएको गुनासो गरे ।
‘जनता पीसीआर परीक्षणका लागि संक्रमणको जोखिम मोलेर बिहानैदेखि लाइनमा बसेका छन्, अहिले आएर पचासभन्दा बढीको परीक्षण नहुनेभन्दा नमूना परीक्षण गर्नै समस्या भयो,’ भीडबाटै एक व्यक्ति बोले । भीड बढेपछि कतिपय स्वास्थ्यकर्मी धनगढी उपमहानगरपालिकाको स्वाब संकलन केन्द्रमा जान सल्लाह दिइरहेका थिए ।
बिहान १० बजेपछि मात्र कोरोना परीक्षणका लागि नमूना दिन पाइने भए पनि बिहानैदेखि ज्वरो आएका, टाउको दुखेकाहरु लाइनमा बसेका थिए । घण्टौँ लाइनमा बस्दा पनि पालो नपाइएको भन्दै कतिपय फर्किएका थिए । लाइन छाडेर घर फर्किका एक स्थानीयले सरकारी अस्पतालमा पीसीआर टेष्ट गर्न निकै असहज हुँदा नमूना नदिई घर फर्किन बाध्य भएको बताए ।
‘नमूनाको परीक्षण गर्न भनेर दुई दिन अस्पताल पुगिसकेँ नाम दर्ता गराउनै सकेको छैन’, उनले भने, ‘नमूना दिन यत्रो समस्या छ, रिपोर्ट पोजेटिभ आयो भने कहाँ गएर उपचार गर्ने भन्ने चिन्ता लागेको छ ।’
जिल्ला स्वास्थ्य कार्यालयले शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पीसीआर परीक्षणको काम सेती प्रदेशिक अस्पतामा हुने गरेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका प्रमुख रमेश शाहीले जनशक्ति अभावले दिनमा चारदेखि पाँच सयको हाराहारीका व्यक्तिको मात्र परीक्षण गर्न सकिएको बताए।
नमूना परीक्षण गर्न सकस देखिएपछि कोरोनाको जस्तो लक्षण भएका धेरै व्यक्ति घरमै आइसोलेशनमा बस्न थालेका छन् । रासस











-1790332718.jpg)