संविधान विपरित भएको मुख्यमन्त्री नियुक्तिलाई बदर गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख २० : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री माननीय शंकर पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्ति गरिएको प्रति नेपाली कांग्रेस संसदीय दलले आपत्ती प्रकट गरेको छ ।
दलका प्रमुख सचेतक बालकृष्ण खाणले आईतबार साँझ एक बिज्ञप्ती जारी गर्दै पोखरेल विरुद्ध प्रदेश सभाका सदस्यहरुले विधिसम्वत अविश्वासको प्रस्ताव दर्ता गरेकामा उक्त प्रस्तावलाई मुख्यमन्त्रीले विधिवत रुपमा सामना गर्नुपर्नेमा नाटकीय रुपमा राजीनामा गर्नुका साथै प्रदेश प्रमुखले उक्त राजीनामालाई स्विकृत गरी अल्पमतमा रहेका संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको प्रति गम्भीर आपत्ति प्रकट गरेको जनाएका हुन् ।
‘मुख्यमन्त्रीको राजीनामा स्विकृत भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका माननीय सदस्यहरुले बहुमत पुर्याई प्रदेश प्रमुख समक्ष सरकार निर्माणको लागि दावी गर्दा उक्त दावीलाई सहजतापूर्वक स्विकार गर्नुपर्नेमा प्रदेश प्रमुखले बहुमत गुमाई सकेका नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री मै नियुक्ति गर्नु संविधान, संसदीय प्रकृया र लोकतान्त्रिक पद्धतिको बर्खिलाफ हो ।’, बिज्ञप्तीमा उल्लेख छ ।
यसरी संविधान विपरित भएको नियुक्तिलाई बदर गरी बहुमत पुर्याई प्रस्ताव गरिएका दल र संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न पनि कांग्रेसले माग गरेको छ ।











-1790332718.jpg)