वैशाख २७ गते संसद् अधिवेशन बोलाउन सिफारिश

काठमाडौं, वैशाख १९ : सरकारले वैशाख २७ गते संसद् अधिवेशन बोलाउन सिफारिश गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो। त्यहि दिन संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिने जनाएको छ।
संविधान अनुसार प्रधानमन्त्रीले आफूसँग संसद्को विश्वास छ वा छै भन्ने एकीन गर्न जुनसुकै बेला पनि विश्वासको मत लिनसक्छन्। त्यहि अनुरुप प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेको एक मन्त्रीले बताए।
सर्वोच्च अदालतको आदेशले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएको छ। तर, अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।
अहिले दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई सय ६७ सदस्य छन्। नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका दुई सांसद निलम्बनमा छन् भने माओवादीले चार सांसदलाई कारबाही गर्दा सांसद पद रिक्त रहेको छ।
अहिले प्रतिनिधिसभामा एमालेका एक सय २१, कांग्रेसका ६१, माओवादीका ४९, जसपाका ३२, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र स्वतन्त्र सांसद एक÷एक जना छन्।











-1790332718.jpg)