Kathmandu Press

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

हैदराबाद, वैशाख १९ : कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ। 

रुसले कोरोनाविरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो। 

रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन्। 

रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाइ छ। 

खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन्। रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो। 

भारतमा कोरोनाबाट सङ्क्रमित भएकाहरुलाई स्पुट्नीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ। 

भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ। अरु दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो।

भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ। 

महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरु प्रदान गरेका छन्।  
 

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्