कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छः पूनावाला

नयाँ दिल्ली, वैशाख १९ : भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाको कोभिड–१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ।
‘कोभिसिल्ड’ नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताएका छन्।
सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्, ‘बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ। पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ। केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।’
यसैबीच, सेरमले बुधबार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको जनाएको छ।
भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको जनाएको छ।
केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरेका छन्।
भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति जनाएका छन्।












