पोलार्डको विस्फोटक इनिङमा मुम्बई विजयी

काठमाडौं, वैशाख १९ : इन्डियन प्रियिमर लिग (आईपिइल)मा अलराउन्ड केइरन पोलार्डले विस्फोटक इनिङ खेलेपछि उनको टिम मुम्बई इन्डियन्स विजयी भएको छ। दिल्लीमा शनिबार राति भएको खेलमा पोलार्डको विस्फोटक इनिङ मद्दतमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्समाथि ४ विकेटको रोमाञ्चक जित निकाल्यो ।
२१९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोलार्डले ‘ब्लकबास्टर’ इनिङ खेले। चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्र्बले अन्तिम बलमा ६ विकेट गुमाउँदै भेट्टायो । यो आईपिएलको दोस्रो ठूलो रनचेज हो।
मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले । उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८७ रनमा नटआउट रहे। उनले १७ बलमा अर्धशतक पुरा गरेका थिए।
पोलार्डले क्रुनाल पाण्ड्यासँग ८९ रनको साझेदारी गरेका थिए । क्रुनालले २३ बलमा ३२ रन बनाए । यस्तै, क्वेन्टन डि कक ३८ र कप्तान रोहित शर्माले ३५ रनको योगदान दिए । यीदुई पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। चेन्नईका साम कुरानले ३ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा २१८ रन बनाएको थियो। उसका लागि अम्बाती रायाडुले विस्फोटक इनिङ खेले । उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाए । उनले रविन्द्र जडेजासँग पाँचौं विकेटका लागि ५६ बलमा १०२ रनको साझेदारी गरेका थिए ।
यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय इनिङ खेले । अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले ३४ बलमा ५० रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए। रविन्द्र जडेजा २२ रनमा अविजित रहे । मुम्बईका केइरन पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए ।
जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ। ७ खेलमा १० अंक जोडेको चेन्नई शीर्ष स्थानमा यथावत छ।











