Kathmandu Press

आज थप पाँचसहित २९ जिल्लामा निषेधाज्ञा

आज थप पाँचसहित २९ जिल्लामा निषेधाज्ञा

काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण बढेपछि आज थप पाँच जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। योसँगै निषेधाज्ञा लागू भएका जिल्ला २९ पुगेका छन्।

गृह मन्त्रालयका अनुसार निषेधाज्ञा जारी भएका २९ जिल्लामध्ये १९ जिल्लामा लागू भइसकेको छ। तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि लागू हुने भउको छ। त्यस्तै, २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ।

आज गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुरमा निषेधाज्ञा गर्ने निर्णय भएको छ। उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। 

गुल्मीमा आज राति १२, बाजुरामा भोलि बिहान ५ र उदयपुरमा आइतबार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ भने प्यूठानमा आज बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ। 

घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ पाँच सय मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ पाँच सय मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको पाँच मिटर दायाँबायाँ, विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मङ्गलदारसम्मको दायाँबायाँ दुई सय मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ। उक्त आदेश आइतबार राति १२ बजेदेखि कार्यान्वयन हुने जनाइएको छ।

यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ। 

यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा आज राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेलधुरामा आइतबार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ। 

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ। सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो।  

त्यहि अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ। यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्ला मध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ।

प्रकाशित मिति: २०:०९ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्