प्रधानमन्त्री ओलीको घोषणा- श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार
प्रधानमन्त्री केपी ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका छन्।
काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री केपी ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार सम्बोधन गर्दै उनले पारिश्रमिक बढाइने बताएका हुन्।
हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजाार ४५० छ। दैनिक ज्याला पाँच सय १७ रुपैयाँ तोकिएको छ। अगामी आर्थिक वर्ष ०७८-७९ देखि दैनिक ज्याला पाँच सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले बताए।
गत वर्ष नै श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने थियो। एक वर्ष ढिलो गरेर सरकारले पुनरावलोकन गर्न लागेको हो। ‘गत वर्ष कोभिड महामारीका कारण न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सकिएको थिएन,’ प्रधानमन्त्री ओलीले भने।
औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकारी प्रतिबद्धता उनले व्यक्त गरे। सरकारले ११ मंसिर ०७५ देखि राष्ट्रिय अभियानकै रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको थियो। यसमा हालसम्म करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिक आबद्ध भएका छन्।
वैदेशिक रोजगारीमा रहेका युवाका लागि अनलाइन श्रम स्वीकृति लागू गरिएको उनले बताए। यस्तै, श्रम गन्तव्य मुलुकहरूसँग सम्झौता गरी सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरिएको उनको दाबी थियो।
कोभिड महामारीका कारण स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू जटिल अवस्थामा रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।











-1790332718.jpg)