Kathmandu Press

कोरोना बढेपछि २३ जिल्लामा निषेधाज्ञा

गृह मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने १९ जिल्लामा लागू भइसकेकाे छ।
कोरोना बढेपछि २३ जिल्लामा निषेधाज्ञा

काठमाडौं, वैशाख १७ : कोरोना भाइरुसको संक्रमण बढ्न थालेपछि धमाधम निषेधाज्ञा लगाउन थालिएको छ। शुक्रबार साँझसम्म देशका २३ जिल्ला निषेधाज्ञा घोषणा गरिएको छ। 

सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर आदेश गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको २३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ। 

केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ। आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो।  

त्यहि अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान  र सुनसरीमा आदेश कार्यान्वयनमा छ। कालीकोट, बागलुङ, बर्दिया र  दार्चुलामा आंशिक आदेश जारी भएको छ। 

यता जाजरकोटमा यही वैशाख १८ गते रातिदेखि तथा सल्यान र  डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि र झापामा १९ गते राति १२ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ।

आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ। गृह प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेका छन्। 

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्