Kathmandu Press

सगरमाथा आरोहणका लागि ४०८ आरोही आधारशिविरमा

सगरमाथा आरोहणका लागि ४०८ आरोही आधारशिविरमा

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको महामारीबीच सगरमाथा आरोहणका लागि चार सय आठ आरोहीहरू आधारशिविर पुगेका छन्। 

वसन्त याममा सगरमाथाका आरोहणका लागि ४३ आराहेण दलले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। जसमा चार सय आठ आरोही रहेका छन्। उनीहरू आरोहणका लागि आधारशिविरमा रहेको विभागले जनाएको छ। 

विभागको पर्वतारोहण शाखाका अनुसार यसमा ९३ महिला र तीन सय १५ पुरुष छन्। यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो। उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए।

यस वर्ष सगरमाथासहित बिभिन्न हिमाल आरोहणका लािग ८५ आरोहण दलका सात सय ४२ आरोहीले अनुमित लिएका छन्। सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन्। धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति लिएको विभागले जनाएको छ। 

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। सगरमाथाबाट मात्रै ६६ करोड बढी रोयल्टी जम्मा भएको छ। 

कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ। 

विभागका निर्देशक मीरा आचार्यले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताइन्। मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ।

अहिले अधिकांश आरोही सगरमाथाको आधारशिविर पुगिसकेका छन्। सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन्।

कोभिड महामारीका कारण अघिल्लो सन् २०२० को वसन्त आरोहण स्थगन भएको थियो। सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो। त्यस्तै सन् २०१८ को वसन्त आरोहण पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो। 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्