प्राविधिक स्वास्थ्य सचिवको पदपूर्ति नगर्नु सरकारको पूर्वाग्रही काम : कांग्रेस सभापति देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले लामो समयदेखि रिक्त स्वास्थ्य मन्त्रालयका प्राविधिक सचिवको पदपूर्ति गर्न सरकारसँग जोडदार माग गरेका छन्।काठमाडौं, वैशाख १७ : कांग्रेस सभापति शेरबहादुर देउवाले लामो समयदेखि रिक्त स्वास्थ्य मन्त्रालयका प्राविधिक सचिवको पदपूर्ति गर्न सरकारसँग जोडदार माग गरेका छन्।
कोभिड-१९ महामारीका सन्दर्भमा शुक्रबार बूढानीलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै सभापति देउवाले भने, ‘पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैरजिम्मेदारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न पनि फेरि माग गर्छौँ।’
अहिले कोभिड-१९ महामारी तीव्र गतिमा फैलिनुमा सरकार जिम्मेवार रहेको उनले बताए। ‘आज मुलुक कोभिड महामारीको दोस्रो चरणमा छ। अत्यन्त कम संख्यामा पीसीआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ। संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ। संक्रमण नियन्त्रण गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘बढ्दो संक्रमणसँगै आईसीयू, बेड, भन्टिलेटरको अभाव देखिन्छ। यस्तो स्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यता पनि जिम्मेदार छ।’
‘यो सरकार न त विगतका गल्तीबाट सिक्छ, न नेपाली कांग्रेस तथा अन्य सरोकारका संस्थाले दिएको सुझाव नै आत्मसात गर्छ। अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भीडभाड, तडकभडकमा मग्न छ। सरकारको संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले पनि लकडाउन गर्ने स्थितिमा पुगेको हो,’ उनले भने।
‘सरकारले काठमाडौं उपत्यकालगायत ठाउँहरूमा १५ दिने लकडाउन लगाउने निर्णय गरेपछि कोभिड-१९ परीक्षण नगरी उपत्यका छोड्न सरकारले समय दिएकाले उपत्यकामा रहेका संक्रमित कम संक्रमण रहेका ठाउँमा पुगेका छन्। यस्तो निर्णयले संक्रमण नभएका ठाउँमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ,’ सभापति देउवाले भने, ‘कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमणको रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रूपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न कांग्रेस सरकारसँग जोडदार माग गर्छ।’
कोभिड-१९ का संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गर्न उनले माग गरे। संक्रमितलाई आवश्यक अस्पताल, आईसीयू बेडलगायत आवश्यक स्वास्थ्य पूर्वाधार, औषधि, अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको तत्काल समुचित व्यवस्था गर्न पनि माग गरे। ‘सबै जिल्लामा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षणलाई व्यापक गरियोस्,’ उनले भने, ‘सीमा नाकाहरूमा परीक्षणको नतिजा नआउँदासम्म होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गरियोस्। परीक्षणमा संक्रमण देखिएकाहरूलाई स्थानीय तहहरूको समन्वयमा आइसोलेसन केन्द्रहरूको व्यवस्था गरियोस्। स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई जोखिम भत्ता तत्काल व्यवस्था गरियोस्।’











-1790332718.jpg)