कोरोनाका नयाँ प्रजातिः लकडाउन होइन, सीमामा कडाइ
कोरोना फेरि बढ्न थालेको खण्डमा सरकारले लकडाउन गरिहाल्नु हुँदैन। यसको सट्टा संक्रमण बढी देखिएका ठाउँहरूलाई सिल गरेर नियन्त्रणका उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुनेछ।दक्षिणी छिमेकी भारतमा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै छन्। दैनिक लगभग ७० हजार संक्रमित देखिइरहेका छन् भने तीन सय हाराहारीमा मृत्यु भइरहेको छ।
पहिले भारतका महाराष्ट्र, तमिलनाडु, केरला, गुजरात, मध्यप्रदेशतिर कोरोना संक्रमित बढी देखिएका थिए। तर, अहिले उत्तरतिर सर्दै दिल्ली, पञ्जाव, हरियाणा, उत्तरप्रदेश, हिमाचल, पश्चिम बंगााल र नेपालको सीमातिर आइरहेको देखिएको छ।
संक्रमित बढ्दै जाँदा भारतमा कोरोना प्रसार रोक्न धेरै ठाउँमा लकडाउन र कर्फ्यू आदेश जारी हुन थालेको छ, जसकारण त्यहाँ पुगेका नेपाली नागरिकले पनि रोजगारी गुमाएका छन्। कोरोनाको डर र बेरोजगारीका कारण उनीहरू स्वदेश फर्किन थालेका छन्।
नेपाल सरकारले विगतका गल्तीबाट पाठ सिक्दै अहिलेदेखि नै सीमा नाकाहरूमा कडाइ थाल्नुपर्ने हो। तर, त्यसतर्फ पहल हुन सकेको छैन। भारतबाट नेपाल आउनेमध्ये कतिपय संक्रमित पनि पाइएका छन्। नेपाल भित्रिने मानिसलाई नाकामै कोरोना परीक्षण गर्दा दैनिक ४० जनाको हाराहारीमा संक्रमित भेटिइरहेका छन्। मानिसहरू मुल नाकाबाहेक खुला सिमानाबाट पनि नेपाल भित्रिरहेका हुन्छन्, उनीहरूको परीक्षण हुन सकेको छैन। सोही कारण नेपालमा पनि कोरोनाका नयाँ प्रजाति फैलिन सक्ने जोखिम देखिएको छ।
भारतमा देखिएका नयाँ संक्रमितमध्ये अधिकांशमा बेलायतमा पहिचान भएको नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पाइएको छ। संक्रमण दर अत्यधिक देखिए पनि त्यस प्रजातिको कोरोना भाइरसबाट मृत्यु संख्या भने कम पाइएको छ। दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रजाति भने अलि बढी घातक देखिएको छ। भारतमा दक्षिण अफ्रिकाको नयाँ प्रजातिको संक्रमण पनि देखिएको छ।
बेलायतको नयाँ प्रजातिको भाइरस नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप प्रभावकारी देखिएको छ। तर, दक्षिण अफ्रिकाको नयाँ प्रजातिको भाइरसविरुद्ध भने खोपको प्रभावकारिता जम्मा १० प्रतिशत देखिएको छ। यसको अर्थ दक्षिण अफ्रिकाको भाइरस फैलियो भने खोप लगाएर मात्र पनि सुरक्षित रहन सकिँदैन।
सरकारले विगतका गल्ती सच्याउनुपर्छ
मुख्य कुरा सरकारले जनस्वास्थ्य मापदण्डहरूको कार्यान्वयन कति प्रभावकारी रूपमा गर्न सक्छ भन्ने हो। सरकारले विगतका गतिविधि नियालेर कोरोना नियन्त्रणमा भएका गल्तिहरूलाई स्वीकार्दै त्यसलाई प्रभावकारी बनाउनतर्फ लाग्नुपर्छ। जस्तै- एक वर्षअघि नेपालमा दुईजनामा कोरोना संक्रमण देखिनासाथ सरकारले लकडाउन घोषणा गरेको थियो। तर, संक्रमितको संख्या १८ हजार पुग्दा लकडाउन हटायो।
यस्तै, कन्ट्याक ट्रेसिङ प्रभावकारी भएन, क्वारेन्टिन व्यवस्थापन राम्रो भएन, जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गराउन नसक्नु र सबैभन्दा ठूलो गल्ती सीमानाका बन्द गर्न नसकिनुलगायत गल्तीहरू अब सच्याउन जरुरी छ। सर्वसाधारणले पनि जनस्वास्थ्य मापदण्डलाई मात्र राम्ररी पालना गर्ने हो भने धेरै हदसम्म संक्रमण नियन्त्रण गर्न सम्भव हुन्छ।
हावाबाट सर्दैन
नयाँ प्रजातिका भाइरस पनि कोरोनाकै हुन्। यिनको सर्ने मुख्य माध्यम पनि नाक र मुखबाट आएको थोपा (ड्रपलेट) नै हो। कतिपय अनुसन्धानले आँसु, पसिनालगायत तरल पदार्थहरूबाट पनि कोरोना भाइरस सर्छ भन्ने देखाएका छन् तर त्यसको स्पष्ट प्रमाण उपलब्ध छैन।
त्यसैले आँखाबाट वा हेरेकै भरमा कोरोना सर्छ भन्ने कुरा गलत हो। आँखा पाक्नेलगायत समस्याका बेला भने कोरोना सर्ने सक्ने सम्भावना रहन्छ।
खोप लगाएको तीन सातापछि शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ। खोपको सुरुको डोजले नै शरीरमा काम गर्न थाल्छ। खोपको पहिलो डोज करिब ६२ र दोस्रो खोप ७४ प्रतिशत प्रभावकारी हुन्छ।
तर, खोप लगाएका मानिसमध्ये पनि करिब ३० प्रतिशतलाई त्यति प्रभावकारी नहुन सक्छ। कतिपय अवस्थामा खोप लगाएका मानिसलाई कोरोना संक्रमण भएर पनि स्वास्थ्यमा असर नदेखिन सक्छ। तर, खोप नलगाएको मानिसबाट कोरोना संक्रमण सर्न सक्छ। सोही कारण खोप लगाएका वा नलगाएका सबैले जनस्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी छ।
लकडाउन आवश्यक छैन
गत वर्ष दोस्रो केस देखिनेबित्तिकै लकडाउन घोषणा गरिएको थियो। तर, त्यतिबेला लकडाउन गरिहाल्नुपर्ने थिएन भन्ने महसुस पछि मात्र गरियो। त्यतिखेर पनि संक्रमित भेटिएका ठाउँलाई तत्काल सिल गरेर कन्ट्याक ट्रेसिङ बढाउँदै क्वारेन्टिनमा राखेको भए हुन्थ्यो।
तर, यो महामारी हामी सबैका लागि नयाँ अनुभव थियो। र, सरकारले पनि डरैडरमा लकडाउन घोषणा गरेको थियो। दुईजना संक्रमित हुँदा लकडाउन गरेको सरकारले १८ हजार संक्रमित पुग्दा त्यसलाई खुकुलो बनायो। लकडाउनले पनि कोरोना नियन्त्रण प्रभावकारी बन्न नसकेको त्यसबाट प्रष्ट हुन्छ।
पछि निषेधाज्ञा पनि जारी भयो, त्यसमा पनि संक्रमित संख्या नियन्त्रणमा आएन। त्यसैले, अब कोरोना नियन्त्रणका लागि लकडाउनको उपाय रोज्नु हुँदैन। लकडाउनकै कारण धेरै मानिस बेरोजगार भए, व्यवसाय बन्द भए, मानिसहरू धेरै ठाउँबाट विस्थापित भए, मानसिक रोग पनि देखापर्यो। अहिले पनि आम मानिसको चासो भनेकै लकडाउन हुन्छ वा हुँदैन भन्नेमा देखिन्छ।
तर, लकडाउन गर्ने वा नगर्ने हाम्रै जिम्मामा छ। किनकि, हामी सबैले जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्यौँ भने जुनसुकै भाइरस आए पनि सामना गर्न सक्छौँ। सबैले मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायत नियम पालना गर्ने हो भने कोरोना एकअर्कामा सर्न पाउँदैन र सरकारसामु लकडाउन गर्नुपर्ने बाध्यता हुँदैन। सरकारले पनि भाइरसका नयाँ प्रजाति फैलिनुअघि नै सबै तयारी गर्ने हो भने ती भित्रिनै पाउँदैनन्।
फेरि लकडाउनको उपाय अवलम्बन गर्दा मानिस अझ बढी निराश हन्छन्। मानिसहरू महामारीका कारण सिर्जित आर्थिक मन्दीबाट भर्खरै मात्र उठ्न थालेका छन्। त्यसैले सरकारले कोरोना फेरि बढ्न थालेको खण्डमा लकडाउन गरिहाल्नु हुँदैन। यसको सट्टा संक्रमण बढी देखिएका ठाउँहरूलाई सिल गरेर नियन्त्रणका उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुनेछ।