यस्तो रह्यो यो साताको शेयर बजारको अवस्था, अब के होला?
काठमाडौं, जेठ १८ : गत साता नेप्से परिसूचक १३१४ दशमलव ५५ विन्दुमा खुलेको थियो भने १३४९ दशमलव ३८ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो....
काठमाडौं, जेठ १८ : गत साता नेप्से परिसूचक १३१४ दशमलव ५५ विन्दुमा खुलेको थियो भने १३४९ दशमलव ३८ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो।
त्यस्तै, ‘इन्ट्राडे’ न्यून विन्दु १२९८ दशमलव ३६ थियो भने बजार १३१९ दशमलव ४७ मा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा ४ दशमलव ९२ अंक अर्थात ० दशमलव ३७ प्रतिशतको वृद्धि हो।
प्राविधिक विश्लेषण
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत ८ महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिएको छ। अघिल्लो साताको विश्लेषणको निष्कर्ष अनुसार बजारको प्रतिरोध क्षेत्र १३५० देखि १३६० मा रहेको भनिएको थियो। यो साता बजार यही प्रतिरोध क्षेत्रदेखि सच्चिरहेको देखिन्छ। त्यस्तै, साताको अन्तिममा बजेट भाषणको प्रभाव पनि बजारमा परेको देखिन्छ।
चित्रमा देखिए बमोजिम यो साता बजार माथिल्लो प्रवृत्ति रेखा क्षेत्रमा रहेकाले मागभन्दा आपूर्ति हुने सम्भावनालाई नकार्न सकिन्न। २०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्तिमाथि नै रहेकाले हालसम्म बजार सकारात्मक क्षेत्रमा नै रहेको संकेत गर्दछ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दैनिक मैनबत्ती प्रवृत्तिले गत १ महिनादेखि नेप्से प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। लगभग एक महिनाको प्रवृत्तिले ‘फलिङ्ग वेजेज’ र ‘एसेन्डिङ्ग ट्रायन्गल’ दुबै आकृति बनाएको देखिन्छ। पहिलो आकृतिले वियरिस र दोस्रोले वुलिस संकेत गरे पनि दोस्रो आकृति कमजोर देखिन्छ।
यो साता अन्तिम दिनको मैनबत्तीले यी दुबै आकृतिको माथिल्लो प्रवृत्ति रेखालाई अर्थात प्रतिरोधलाई तोड्न खोजे पनि तोड्न असफल रहेको र यसलाई प्राविधिक भाषामा ‘फल्स ब्रेकआउट’ भएको भनिने गरिन्छ।१४ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्से प्रवृत्ति माथि रहेकाले बजार हालसम्म बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ र हाल यो ईएमए टेवाको रुपमा देखिएको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६५ दशमलव ४७ अंकमा रहेको छ। बजारको प्रवृत्तिसँग आरएसआई तुलना गर्दा सामान्य देखिएको छ। अन्तिम दिनको मैनबत्तीले ‘सुटिङ्ग स्टार’को आकृति बनाएको छ, यसले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गर्दछ। यो आकृतिलाई त्यस दिनको परिमाणले समर्थन गरेको देखिन्छ। जसले बजार केही सच्चिन सक्ने सम्भावनालाई समर्थन गर्दछ।
निष्कर्ष
हालसम्म नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार केही सच्चिन सक्ने सम्भावनालाई नकार्न सकिन्न। बजेटको कारण बजारमा अत्याधिक उतारचढाव रहेकाले यस्तो अवस्थामा बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई बजार केही स्थिर नभइन्जेल ‘पर्ख र हेर’को रणनीति अपनाउन उपयुक्त देखिन्छ।
यदि बजार १३५० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार १३०० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा १२७० देखि १२८५ को क्षेत्रमा रहेको देखिन्छ।