निजीभन्दा कम छैन पद्मोदय मावि
केजी तहदेखि कक्षा १२ सम्म पढाइ हुने यस सामुदायिक विद्यालयमा १ देखि ६ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । ७ देखि १२ कक्षासम्म विद्यार्थीको छनोट अनुसार दुवै माध्यम (अंग्रेजी र नेपाली) मा पढाइन्छ । नेपाली माध्यमको तुलनामा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको संख्या धेरै छ।काठमाडौं, फागुन १६ : ‘रुमानन्द सर ! ४ कक्षा र ५ कक्षा खाली छ रे । एकचोटि विद्या मिसलाई भन्न पाए हुन्थ्यो कि ?’
‘५ कक्षा अहिले मञ्जु मिसको हो । मञ्जु मिस आउनुभएको छैन ?’
अघिल्लाे बिहीबार बिहान ११ बजे पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमको कक्षमा पुग्दा सुनिएको संवाद हो यो ।
प्रधानाध्यापकले ४ र ५ कक्षामा पढाइ नभएको देखेपछि समाधान खोज्दै रहेछन् । प्रधानाध्यापक गौतमका अनुसार यस विद्यालयको सबल पक्ष भनेकै कहिल्यै कक्षा खाली नहुनु हो । कुनै कक्षाको विषय शिक्षक उपस्थित छैनन् भने अर्को शिक्षकले पढाउँछन् । यसरी थप कक्षा लिएबापत शिक्षकलाई अभिप्रेरणाका लागि एउटा कक्षाको ५० रुपैयाँ दिने गरिएको छ ।
केजी तहदेखि कक्षा १२ सम्म पढाइ हुने यस सामुदायिक विद्यालयमा १ देखि ६ कक्षासम्म अंक़ग्रेजी माध्यममा पढाइ हुन्छ । ७ देखि १२ कक्षासम्म विद्यार्थीको छनोट अनुसार दुवै माध्यम (अंग्रेजी र नेपाली) मा पढाइन्छ । नेपाली माध्यमको तुलनामा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको संख्या धेरै छ । कारण, सानो कक्षामा निजी विद्यालयमा अंग्रेजी माध्यमबाट पढेका अधिकांश विद्यार्थी यहाँ माथिल्लो तहमा पढ्न आउँछन् ।
सिन्धुली कमलामाई नगरपालिकाकी युना श्रेष्ठ यहाँ कक्षा १० मा अध्ययनरत छन्, अंग्रेजी माध्यमबाट । कक्षा ४ सम्म उनले निजी विद्यालय (जनता हाइअर सेकेन्डरी बोर्डिङ स्कुल, सिन्धुली)मा पढेकी हुन् । भूकम्पपछि उता पठनपाठन रोकियो । यता काठमाडौंमा उनका बुवाको जागिर थियो, दाइ आयुष बुवासँगै बसेर पद्मोदय कलेजमा प्लस टु पढिरहेका थिए । युना पनि यही विद्यालयमा भर्ना भइन् । उनी भन्छिन्, ‘दाइले अंग्रेजी माध्यमबाट पढाइ हुने यस विद्यालयको पढाइ राम्रो छ भनेपछि यहाँ भर्ना भएकी हुँ ।’
युनाको सपना छ, आँखाको डाक्टर बन्ने । उनी यस विद्यालयमा पढाइ राम्रो हुनुका साथै विद्यार्थीलाई गरिने व्यवहार पनि मनपर्ने बताउँछिन् ।
प्रधानाध्यापक गौतमका अनुसार, २०६७ देखि यहाँ अंग्रेजी र नेपाली दुवै माध्यममा पढाउन थालिएको हो । पछिल्लो राजनीतिक परिवर्तन (०६२/६३) अघिसम्म यहाँ वार्षिक २००० देखि २५०० सम्म विद्यार्थीले पढ्थे । निजी विद्यालय खुल्ने क्रम बढेसँगै अभिभावकले आफ्ना बालबालिकालाई सकेसम्म अंग्रेजी माध्यमबाट पढाइ हुने निजीमा पढाउन थाले । त्यसैले यस विद्यालयमा विद्यार्थी घटेको विद्यालय व्यवस्थापनको अनुमान छ ।
राणाप्रधानमन्त्री पद्मशमशेरको नाममा
प्रधानाध्यापक गौतमका अनुसार, यो विद्यालय २००३ सालमा स्थापना भएको हो, स्थानीय ईश्वरराज अर्यालको सक्रियतामा । उनी विद्यालय खोल्नका लागि राणाशासकको अनुमति लिन पटकपटक पद्मशमशेर राणा (तत्कालीन श्री ३ प्रधानमन्त्री)को दरबारमा पुगे । तर, उनलाई आसेपासेले पद्मशमशेरसँग भेट्न समेत दिएनन् । हरेकपटक उनले विद्यालय खोल्ने आफ्नो प्रस्तावलाई पद्मशमशेरसम्म पुर्याइदिनु भनेर फर्कन्थे । संयोगले एक दिन उनको भेट पद्मशमशेरसँग भयो, भेटमा उनले विद्यालय खोल्ने प्रस्ताव गरे । उक्त भेटपछि मात्र उनलाई थाहा भयो कि दरबारियाले उनको प्रस्तावलाई पद्मशमशेरसमक्ष पुर्याएकै रहेनछन् ।
उनले विद्यालय खोल्ने निवेदन गरेपछि सकारात्मक रूपमा लिँदै पद्मशमशेरले ‘कुन विद्यालय, कसरी र कुन नामबाट सञ्चालन गर्नुहुन्छ ?’ भनी सोधेका थिए । जवाफमा उनले ‘महाराजको आज्ञा भयो भने यहाँकै नामबाट विद्यालय खोल्छौँ’ भने ।
यसरी उनको नेतृत्वमा आनन्दप्रसाद ढुंगाना, झंकबहादुर श्रेष्ठ, प्रेमबहादुर कंसाकार, कृष्णबहादुर मानन्धर, रत्नमान मास्के र गौरीप्रसाद राजभण्डारी लगायत शिक्षकको अथक प्रयासमा यो विद्यालय स्थापना भयो, २००३ फागुन २९ गते । हाल रत्नपार्कस्थित सेयर मार्केट भवन रहेको स्थानमा विद्यालय खोल्ने अनुमति पाइएको थियो । समय बित्दै जाँदा उक्त भवन साँघुरो भएपछि पद्मशमशेरले सात रोपनी तीन आना जग्गा उपलब्ध गराए । सोही जग्गामा शिक्षक, कर्मचारी तथा विद्यार्थीको श्रमदानबाट २०१० सालमा एउटा भव्य भवन बनेको थियो, जुन भवन २०७२ को भूकम्पले भत्कियो । उक्त भवनमा २६ वटा कोठा थिए, जसमा कक्षाकोठासँगै प्रशासनिक कक्ष, लेखा कक्ष, स्टाफ कक्ष, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, दुई सय जना अटाउने हल, स्टोर कक्ष लगायत थियो ।
अहिले यहाँ भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । विद्यालय प्रशासनका अनुसार, नेपाल सरकार पुनर्निर्माण प्राधिकरण कार्यान्वयन इकाई (शिक्षा) बाट एसियाली विकास बैंकको सहयोगमा ६ करोड ५० लाख ३६ हजारमा निर्माण भएको चारतले उक्त भवनमा २५ कोठा छन् । यस्तै, काठमाडौं महानगरपालिकाको सहयोगमा पनि थप भवन निर्माण भएको छ ।
यस विद्यालयमा प्राथमिक तह २०३० पछि मात्र खुलेको हो । यसअघिसम्म यहाँ ५ देखि १० कक्षासम्म पढाइन्थ्यो । पाँचपटक देशको प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले यही विद्यालयबाट एसएसली दिएका हुन् ।
यस विद्यालयमा सुरुदेखि छात्रले मात्रै अध्ययन गर्थे, २०४८ देखि छात्राले पढ्न पाउने व्यवस्था भएको हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर २०४८ देखि यस विद्यालयमा नेपाल साइन्स क्याम्पस सञ्चालनमा आयो । २०६० देखि उक्त क्याम्पसलाई प्लस–टु मा रूपान्तरण गरियो । सुरुमा यहाँ विज्ञान र व्यवस्थापन संकाय अन्तर्गत पढाइ हुन्थ्यो । २०७२ देखि भने मानविकी संकाय अन्तर्गत पनि अध्यापन हुँदै आएको छ ।
यस्तै, २०७३ देखि शिक्षा संकायका विषय र २०७६ देखि कानुन विषय पनि अध्यापन हुने गरेको प्रधानाध्यापक बताउँछन् ।
यस विद्यालयमा अध्ययन गरेका थुप्रै विद्यार्थी नेपालको राजनीति, प्रशासनिक क्षेत्र र कलाकारिता क्षेत्रमा स्थापित छन् । पूर्वमन्त्री कमल थापा, पूर्वप्रधानान्यायाधीश तथा वर्तमान राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, मानव अधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधर, पूर्वसभामुख दमननाथ ढुंगाना वरिष्ठ लेखक यादव खरेल तथा हास्यकलाकार हरिवंश आचार्य, मनोज गजुरेल यसै विद्यालयमा पढेका हुन् ।
२०५२ मा यस विद्यालयले ५०औं वार्षिकोत्सव मनाउँदा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा उपस्थित भएका थिए । विद्यालय प्रशासनका अनुसार कमल थापाले पछिल्लोपटक पनि यस विद्यालयमा उपस्थित भई केही आर्थिक सहयोग गरेका थिए ।
अनुशासनमा पढाइ
दिमेश सिंह धर २०४५ सालदेखि यस विद्यालयको लेखाशाखामा कार्यरत छन् । उनी यही विद्यायलयका उत्पादन हुन् । उनले यस विद्यालयमा कक्षा ४ देखि पढेर ०३८ सालमा एसएलसी दिएका थिए ।
दिमेश पहिलेदेखि नै यस विद्यालयमा अनुशासनमा पढाइ हुने बताउँछन् । उनी विद्यालयमा हुने अनुशासन सम्झँदै भन्छन्, ‘एउटै कक्षामा ८० भन्दा बढी विद्यार्थी हुँदा पनि हल्ला फिटिक्कै हुँदैनथ्यो । खाजा खाने समयमा भृकुटीमण्डपमा हामी खेल्न जान्थ्यौँ, फर्कंदा पर्खाल बाहिरदेखि नै विद्यालयभित्र चौरमा शिक्षक उभिइरहेको देख्दा डर लाग्थ्यो ।’ पहिलेदेखि नै यहाँ असल शिक्षकले पढाउने गरेको उनी बताउँछन् ।
उनलाई अझै याद छ, आफ्नो पालामा कसले कुन डिभिजन ल्यायो भन्ने । उनी भन्छन्, ‘मेरो पालामा एसएलसी दिने ७३ जना थियौँ । जसमा पहिलो श्रेणीमा १५ जना, दोस्रो श्रेणीमा २२ जना र तेस्रो श्रेणीमा २ जना उत्र्तीण भएका थिए ।’
शारदा गौतमले यस विद्यालयमा पढाउन थालेको १५ वर्ष भयो । २ देखि ७ कक्षासम्म सामाजिक विषय पढाउने उनी सबै विद्यार्थी विद्यालयको अनुशासनमा रहेर पढ्ने गरेको बताउँछिन् ।
करिबकरिब निःशुल्क
०७२ को भूकम्पयता विद्यालयले एक विद्यार्थी बराबर वार्षिक वार्षिक ५ सय ५० शुल्क लिने गरिन्छ– फारम, क्यालेन्डर आदिका लागि । त्यस्तै, विद्यालयको आन्तरिक परीक्षा र कम्प्युटर कक्षाका लागि वार्षिक चार सयदेखि पाँच सय रुपैयाँसम्म तिर्नुपर्छ । यसमा विद्यालयका आर्थिक अवस्था हेरेर छुुट समेत दिइन्छ ।
यस विद्यालयमा ३९ शिक्षक–शिक्षिकासँगै ८ कर्मचारी कार्यरत छन् । २९ शिक्षक–शिक्षिकालाई नेपाल सरकारबाट तलबभत्ताको व्यवस्था हुन्छ । बाँकी शिक्षक–शिक्षिका र कर्मचारीलाई विद्यालयको आन्तरिक स्रोतबाट तलब दिइन्छ । यस विद्यालयले परिसर वरपर १८ सटर भाडामा लगाएको छ, जसबाट करिब मासिक दुई लाख ५० रुपैयाँ आम्दानी हुने गर्छ ।
त्यस्तै, केजी तहदेखि कक्षा २ सम्मका विद्यार्थीलाई विद्यालयले खाजाको व्यवस्था पनि गरेको छ ।
०७६÷७७ मा यस विद्यालयमा कुल चार सय पाँच विद्यार्थी अध्ययन गर्छन्– छात्र दुई सय १३ र छात्रा एक सय ९२ जना । प्राध्यापक गौतमका अनुसार, पहिले (एसएलसी) देखि नै यहाँका विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुन्थे, अहिले एसइई (ग्रेडिङ व्यवस्था)पछि पनि शतप्रतिशत नतिजा आउने गरेको छ ।
रत्नपार्क व्यापारिक क्षेत्र भएकाले भृकुटीमण्डपमा व्यापार गर्ने, प्राइभेट अफिस भएका र कतिपय सिंहदरबारका कर्मचारीले पनि आफ्ना बालबालिका यस विद्यालयमा पढाउने गरेका छन् ।
यहाँ कम्प्युटर कक्षा अनिवार्य पढाइन्छ । गत वर्ष चैतदेखि कोभिड–१९ ले सबै विद्यालयका पठनपाठन ठप्प भयो । यस अन्तरालमा यस विद्यालयले अनलाइन कक्षाबाटै विद्यार्थीलाई विषयगत कक्षामा जोडेको थियो । प्रशासनका अनुसार सबै विद्यार्थीको घरमा इन्टरनेटको पहुँच नभएकाले शतप्रतिशत विद्यार्थीलाई समेट्न नसके पनि ७० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा आबद्घ भएका थिए ।
यस वर्ष विद्यालयमा चार सय पाँच विद्यार्थी अध्ययन गर्छन्– छात्र २ सय १३ र छात्रा संख्या एक सय ९२ ।