शेयर बजार १३०० को मनोवैज्ञानिक टेवामाथि बस्न सफल
काठमाडौं, जेठ १३ : इन्ट्राडेमा १३०० को विन्दुभन्दा मुनि गएपनि अन्तत: बजार १३०० को मनोवैज्ञानिक रेखाभन्दा माथि बस्न सफल भएको छ।
बजा....
काठमाडौं, जेठ १३ : इन्ट्राडेमा १३०० को विन्दुभन्दा मुनि गएपनि अन्तत: बजार १३०० को मनोवैज्ञानिक रेखाभन्दा माथि बस्न सफल भएको छ।
बजारले पौने २ बजेको समयमा उच्च विन्दु बनाए पनि त्यसपछि भने बिक्रीकर्ता नै हावी देखिएका थिए। बजारले १३०० को विन्दुभन्दा माथि नै बन्द हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ।
बजेट भाषण नजिकिँदै जाँदा बजेटलाई पनि केही लगानीकर्ताले सुक्ष्म रुपमा पर्खेको अनुमान लगाउन सकिन्छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ० दशमलव ३४ ले वृद्धि भएर १३०२ दशमलव ९६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०३ प्रतिशतकोे वृद्धि देखिएको छ।
दोस्रो बजार १३०२ दशमलव ६१ को विन्दुमा खुलेको थियो भने १३०९ दशमलव ९० को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२९८ दशमलव ३६ थियो। दिनभरमा ५१ करोड ९५ लाखको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ७ करोड ३१ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज स्पर्श लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८३ प्रतिशतले कमाए भने सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले सर्वाधिक ८ प्रतिशतले गुमाए।
मूल्य समायोजन गतिविधि
- रिलायन्स फाइनान्सको मूल्य समायोजन भएको छ। १२ प्रतिशत बोनस शेयर प्रयोजनार्थ कम्पनीको शेयर मूल्य समायोजन भएको छ।
शेयर सूचीकरण
-आज गुराँस लघुवित्तको आईपीओ शेयर र विजय लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।
अन्य गतिविधि
जेबिल्स फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले १०० बराबर ३३ को अनुपातमा (प्राप्ति) एक्वायर गर्ने भएको छ।
भोलिका प्रमुख गतिविधि
- ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावसहित एनएलजी इन्स्योरेन्सले मंगलबार विशेष साधारण सभा गर्दैछ। प्रस्तावित हकप्रदपछि कम्पनीको पूँजी १ अर्ब पुग्नेछ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार नेप्सेको १३०० टेवा क्षेत्र रहेको थियो। आज बजारले यो टेवा क्षेत्रलाई निश्चित रुपमा तोड्न असफल रह्यो। बजार १३०२ दशमलव ९६ विन्दुमा रहेको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम बजार लगभग एक महिनादेखि प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। अन्तिम दिनको मैनबत्तीले डोजी आकृति बनाएको छ र यसले बजारमा क्रेता र विक्रेता दुबैको चाप रहेको संकेत गरेको छ। आजको परिमाण भने सामान्य देखिएको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, हिजो र आजको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजोसम्म घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको देखिन्छ। यसले आज बजारमा लगानीकर्ताहरु अन्योल रहेको संकेत गर्दछ।
बजार प्रवृत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४१ दशमलव १६ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबार समयको १ः४५ देखि बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।
स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी बिक्री भएपनि बजार बढी हाल्ने संकेत भने गरेको देखिँदैन।
निष्कर्ष
माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार १३१० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ र तत्कालीन सामान्य प्रतिरोध १३१८ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२९८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२८५ मा रहेको देखिन्छ।