शेयर बजारमा आज पनि अन्योल
काठमाडौं, जेठ ५ : आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १ दशमलव ८७ अंकले घटेर १३१६ दशमलव ८४ को विन्दुमा पुगेको छ। आज दोश्रो बज....
काठमाडौं, जेठ ५ : आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १ दशमलव ८७ अंकले घटेर १३१६ दशमलव ८४ को विन्दुमा पुगेको छ। आज दोश्रो बजार परिसूचकमा पनि ० दशमलव १४ प्रतिशत गिरावट आएको छ। आज दोश्रो बजार १३१८ दशमलब ७१ को विन्दुमा खुलेको थियो भने १३२२ दशमलव ०९ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १३१२ दशमलव ८१ थियो। आज दिनभर १ अर्ब ८ करोड ८७ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २२ करोड ६८ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज शिवम् सिमेन्ट्सका शेयरधनीले सर्वाधिक ९ दशमलब ९७ प्रतिशतले कमाए भने विशाल बजार कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ५ दशमलव ७८ प्रतिशतले गुमाए।
प्राविधिक बिश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन सामान्य टेवा १३१२ देखि १३१५ को क्षेत्रमा रहेको भनिएको थियो। आज बजारले १३१२ दशमलब ८१ को सामान्य टेवा प्राप्त गरेपछि बजार केही बढेर १३१६ दशमलब ८४ मा बन्द भएको छ।
चित्र नं १ दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए वमोजिम तल्लो प्रवृत्ति रेखाभन्दा माथि रहेकोले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। अन्तिम दुई दिनको मैनवत्तीहरुले डोजी आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ता अझै पनि अन्योल अवस्थामा रहेको देखिन्छ। आजको परिमाणले क्रेता र विक्रेता दुबैको चाप रहे पनि विक्रेताको चाप केही मात्रामा बढी देखिन्छ ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, हिजो र आजको कारोबार कस्तो रह्यो भनी हेर्न ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। नेप्सेको माथिल्लो बिन्दुहरु घट्दो प्रवृत्तिमा रहेकोले बजारमा क्रेताको चाप केहि कमजोर रहेको देखिन्छ ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स ५२ दशमलब ६३ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा बजार सकारात्मक क्षेत्रमा रहन सकेको देखिन्छ। त्यस्तै गरि स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको तर बजार निश्चित रुपमा सच्चि हाल्ने संकेत भने गरेको देखिन्दैन।
निश्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार १३२२ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को तत्कालिन सामान्य प्रतिरोध १३२७ मा रहेको देखिन्छ । त्यस्तै गरि सामान्य टेवा १३१२ मा रहेको देखिन्छ ।