नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पुँजीकरण ३१ खर्ब नाघ्यो
काठमाडौँ– लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँ...काठमाडौँ– लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १७.३१ बिन्दुले वृद्धि भई २ हजार ३३२.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१८ ले वृद्धि भई ४४५.६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम ६ अर्बमाथि रहेको छ ।
कूल २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ मूल्यमा कारोबार भयो । नेप्सेको उकालो यात्रासँगै बजार पुँजीकरण ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख ४० हजार बराबर भएको छ ।
जीवन बिमा, निर्जीवन बिमा र व्यापार उपसमूहको सेयरमा उल्लेख्य सुधार आउँदा बजारले नयाँ लय समातेको हो । कारोबार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत् उपसमूहको सेयर ओरालो लागेको छ । सो उपसमूहको सेयरमा ११.५२ बिन्दुको गिरावट देखिएको छ ।
यसैगरी बैंकिङ २.८१, व्यापार १८१.०४, होटल ११३, विकास बैंक ५०.४५, वित्त २२.५८, निर्जीवन बिमा १२६.१३, उत्पादन २१.४, अन्य ११.४२, लघुवित्त १००.१, जीवन बिमा १९९.४७ र सामूहिक लगानी कोष ०.२५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ४६ लाख ९४ हजार ७८९ बराबरको कारोबार भयो ।