Kathmandu Press

एसियाली मुलुक कोभिड खोपप्रति किन सतर्क छन् ?

एसियाली राष्ट्रहरूले कोभिड-१९ नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ प्रणाली र सामाजिक दुरी कायम गर्दै आएपनि भ्याक्सिन उपलब्धीको ढिलाइले महामारीको खतरा बढेको छ।पश्चिमी देशहरू खोप...
एसियाली मुलुक कोभिड खोपप्रति किन सतर्क छन् ?

एसियाली मुलुकले कोभिड–१९ नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ प्रणाली र सामाजिक दूरी कायम गर्दै आए पनि खोप उपलब्धीको ढिलाइले महामारी प्रसारको जोखिम बढ्दो छ। पश्चिमा देशहरू खोप वितरण गर्न हतारिएका छन् । तर, अस्ट्रेलिया, हङकङ र दक्षिण कोरियाका सरकारहरूले पश्चिमा मुलुकको आधिकारिक सफलता पर्खिरहेका छन्। खोपको आधिकारिक सफलतालाई पर्खिनु अनौठो होइन तर समयमै खोप वितरण नहुँदा कमजोर आर्थिक हैसियतका नागरिक मर्कामा छन्।

ब्लुमबर्ग कोभिड रेजिलियन्स श्रेणीकरणको तथ्यांकअनुसार, अर्थव्यवस्था सुदृढ भएका  देशमध्ये महामारी रोकथाममा सबैभन्दा सफल न्युजिल्यान्डसमेत खोप वितरणमा पछाडि छ। कोभिड–१९ नियन्त्रणका लागि विश्वभर प्रशंसा बटुलेकी न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनलाई विपक्षीहरूले प्रश्न गर्दै आएका छन्– खोप वितरणमा हामी किन विश्वमै पछाडि छौँ ?

विभिन्न मुलुकका पत्रपत्रिकाले खोपको ढिलाइबारे सरकारहरूमाथि प्रश्न गर्दै आएका छन् । दक्षिण कोरियाको ‘हन्कयोरेह’ तिनैमध्येको हो । उक्त अखबारले सम्पादकीयमा भनेको छ, ‘हामी नागरिकलाई दैनिक जीवनमा निश्क्रिय बनी आर्थिक पीडा सहेर बसिराख भन्न सक्दैनौँ।’ तर, सरकारी अधिकारीहरू आफ्नो दायित्व निर्वाह गर्न पनि समयको पर्खाइमा देखिन्छन्। त्यसको समर्थन दिँदै हङकङको कार्यकारी परिषद्का राजनीतिक सल्लाहकार लाम चिङ चोई भन्छन्, ‘धैर्यका साथ अन्य देशले के गर्दैछ भनी हेर्नु नराम्रो कुरा होइन। म उनीहरूप्रति सहानुभूति राख्छु र यसमा विलासिताको कुनै उपाय छैन किनकि महामारीलाई अन्त्य गर्न धैर्यकै आवश्यकता छ।’

Hardik ivf

हङकङमा दिनहुँ कोभिड–१९ का दर्जनौँ नयाँ बिरामी देखिन्छन् । हङकङमा हालसम्म कोभिड–१९ बाट एक सय ६१ जनाको मृत्यु भएको छ । क्लिनिकल परीक्षण नसकिएकाले खोप अनुमोदन हुनसकेको छैन। हङकङले फेब्रुअरीमा खोप वितरण सुरु गर्ने बताएको छ ।

महामारी फैलिने जोखिम नियन्त्रणमा राख्न अस्ट्रेलियाले सीमामा आप्रवासीहरूको आगमनमा रोक लगाउँदै आएको छ। फाइजर र बायोनटेकको खोपलाई जनवरी अन्त्यसम्म वितरण गर्ने लक्ष्य अस्ट्रेलियाको छ। आगामी फेब्रुअरीदेखि अस्ट्राजेनेका–अक्सफोर्ड खोपको पनि सहज वितरण थाल्ने लक्ष्य अस्ट्रेलिया सरकारको छ। अमेरिका र बेलायतले करिब एक करोड ४० लाख खोप वितरणका लागि गत महिना नै स्वीकृति दिएका छन् । इजरायले पनि २० लाख खोप भित्र्याएर वितरणको तयारीमा जुटेको छ। 

खोपसँगै चिन्ता पनि

एसियाली मुलुकका सरकारी अधिकारी र स्वास्थ्य विशेषज्ञहरू चिन्तामा छन् किनकि एमआरएनए प्रविधिबाट बनेका खोपहरूको प्रयोग पहिलोचोटी भइरहेको छ। यो मानव शरीरभित्र क्रियाशील हुन प्रोटिन उत्पादन गरी एन्टिबडी विकास हुन्छ । निकै कम समयमा खोपको अनुसन्धान, विकास र वितरण हुन थालेको पहिलोपटक हो।

ढिलो भइसकेकाले धेरै मानिस हतारिँदै शरीरमा कोभिडको प्रमाणबिनै इन्जेक्सन लगाउन आतुर छन्। यसले एलर्जी र हृदय गति बढाउने जोखिम देखिन थालेको छ । अर्थात्, खोप साइड इफेक्टरहित छैन । फाइजर खोप लगाएको १६ दिनपछि स्वास्थ्यकर्मी मृत पाइएको खबर पनि आइरहेका छन्, जुन प्रमाणित हुन बाँकी छ।

अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका विषाणुविज्ञ एडम टेलर पश्चिमी मुलुकको अनुभव सिक्न यो पर्खाइ उपयोगी हुने विश्वास व्यक्त गर्छन् । भन्छन्, ‘फाइजर र मोडर्नाजस्ता खोप बनाउन प्रयोग भएको प्रविधि मानवमा पहिले प्रयोग भएको थिएन। यसको सुरक्षा परिणाम राम्रो छ तर प्रमाण जति जुट्दै जान्छ, त्यति राम्रो हुनेछ।’

औषधि कम्पनीलाई हतारिँदै कानुनी प्रतिरक्षा प्रदान गरिएकाले केही देशका अधिकारी चिन्तित छन्। दक्षिण कोरियाली स्वास्थ्य मन्त्री पार्क निउनघुका अनुसार महामारीको प्रकृति नबुझेका कारण देशहरू यस्ता कम्पनीसँग अनुचित सम्झौता गर्न बाध्य भएको ठान्छन्। उनले हालै एक प्रेस ब्रिफिङमा आफ्ना देशका अधिकारीहरूले समय लिएर अघि बढ्नुपर्ने सुझाएका थिए ।

औषधी कम्पनीहरूले दुर्घटनाको जिम्मेवारी नलिने भएकाले जोखिम नपहिल्याई खोप वितरण गर्न हौसिनु अनावश्यक भएको विचार उनको छ। दक्षिण कोरियाको राजधानी सियोलमा आगामी फेब्रुअरीदेखि खोप कार्यक्रम सुरु हुँदैछ।
 

कोभिड रोकथामको व्यवस्थापन

पश्चिमा मुलुकभन्दा पहिले कोभिडको त्रासबाट गुज्रेका एसियाली मुलुकमा पर्खाइको हद नाघिसकेको छ। यहाँका जनता वर्षदिनदेखि केवल मास्क लगाएर घरमै बसी सामाजिक दूरीका नियम पालना गर्दै आएका छन्। जनताको असहजता महसुस गर्दा हरेक तवरले स्वास्थ्य प्रतिरक्षा र रोकथाम नितान्त जरूरी देखिन्छ।

मानिसको बाँच्ने प्रयास सफल पार्न र देशको अर्थतन्त्रलाई जोगाउन खोपको उपलब्धता जरूरी भएको हङकङस्थित हरिलेला होटेलका अध्यक्ष एवं चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष आरोन हरीलेला बताउँछन्। उनको भनाइअनुसार खोपको उपलब्धता नभए राष्ट्रको अर्थतन्त्रले चाँडै घुँडा टेक्छ ।

न्युजिल्यान्डमा खोप वितरण यस वर्षको आधा अवधिपछि सुरु हुँदैछ। उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसन आफ्नो देश चुपचाप र गैरजिम्मेवार छ भन्ने कुरालाई नकार्छन्। उनले न्युज टक जेडबीसँग केही दिनअघि मात्र आफू हरेक कोशिस गर्न प्रयत्नशील रहेको र सकभर चाँडै खोप वितरण गर्न लागिपरेको बताएका छन्।
 

खोप वितरण र लापरबाही  नियन्त्रण

एसियाली मुलुकहरू ढिलो गरी खोप कार्यक्रममा अगाडि बढ्नुको कारण खोपप्रतिको जनविश्वासमा हानी पुग्नसक्ने आशंका पनि हो। एसियाली मुलुकमा जनताको खोपप्रतिको विश्वास निकै कम रहेको प्रमाण विश्व आर्थिक मञ्चले गरेको इप्सोस नामक सर्वेक्षणमा पनि हो । कोभिड–१९ को खोपप्रति विश्वको दृष्टिकोणबारे जाँच्दा अक्टोबरदेखि डिसेम्बरभित्र दक्षिण कोरिया, जापानलगायत मुलुकको खोप खरिद गर्ने नौ प्रतिशत गिरावट आएको देखिन्छ। यस्ता देशमा कोभिडका नयाँ बिरामी देखिइरहेका छन्।

सरकारले अग्रिम शुल्क असुल्दै ठूलो मूल्यमा खोप खरिद गर्छ। त्यसपछि खोपको म्याद चाँडै सकिन्छ, जसकारण प्रयोगमा आउन सक्दैनन्। यसले फेरि अर्को विपत्ती सिर्जना गर्नसक्ने सिंगापुर नेसनल युनिभर्सिटीका सहप्राध्यापक जेरेमी लिमको भनाइ छ । स्वास्थ्य अधिकारीहरू पनि खोपमाथिको अपेक्षालाई कम गर्नुपर्ने तर्क गर्छन्। उनीहरूका अनुसार यसले तुरुन्तै सामाजिक प्रतिबन्धलाई सुनिश्चित गर्दैन। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू सम्पूर्ण जनसंख्याको ८० प्रतिशतले खोप लिए मात्र कोभिड रोकथामलाई चाहिने प्रतिरक्षा सुनिश्चित हुने बताउँछन्। ६५ प्रतिशत जनतामा पुग्न हतारिएर बाँकी १५ प्रतिशत खोप पुर्‍याउन नसक्नुको कुनै औचित्य नहुने भनाइ लिमको छ।

- ब्लुमबर्ग डटकमबाट
 

प्रकाशित मिति: ०७:२० बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्