टोपबहादुर रायमाझीको प्रश्न- सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?
काठमाडौं, पुस ८ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग...
काठमाडौं, पुस ८ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गरिएको बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा स्थायी कमिटी सदस्य रायमाझीले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको आरोप लगाए।
‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो। मुख्यगरी प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन। हातखुट्टा बाँध्ने काम भयो। उहाँलाई काम गर्न नदिने स्थिति भयो। प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याइयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु गरेन। सरकार पक्षबाटै नेताहरुबाट विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि एकातिर काम गरेन भन्ने अर्कोतिर अविश्वासको प्रस्तावमा जाने कुरा भयो। यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो। यो उहाँको बाध्यात्मक कदम हो,’उनले भने।
उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको जिकिर गरे। उनले कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने जिकिर गरे।
उनले सरकारले काम गर्न सकेन भनेपछि सरकार परिवर्तनका लागि अविश्वास प्रस्ताव पेश गरेपछि र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे। रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने पनि विश्वास दिलाए।
उनले वर्तमान अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष र सर्वसम्मत प्रधानमन्त्री भएको सुनाउँदै बालुवाटारमा पहिलो अध्यक्षको नाताले ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको बताए। उनले भने,‘कतिपय साथी आउनुभएन, कतिपय आउनुभयो। हामीले आवश्यकता अनुसार केन्द्रीय कमिटीमा संख्या थप्यौं। विधानअनुसार बैठक बसियो।’











-1791359764.jpg)