माधव नेपाललाई नेकपाको अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय
अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त पदमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको छ।
मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त पदमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘ओलीले संविधान, लोकतन्त्र, पार्टी र पार्टी एकताविरुद्ध काम गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको छ,’ उनले भने,‘ ओलीलाई अध्यक्ष पदबाट हटाएपछि रिक्त अध्यक्ष पदमा बैठकले सर्वसम्मतीबाट माधवकुमार नेपाललाई चयन गरेको छ।’
श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष बनाउने बैठकले सर्वसम्मत निर्णय गरेको हो।
यस्तै, पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘स्थायी कमिटीमा रिक्त रहेको एक सदस्यमा कमरेड महरालाई मनोनीत गर्ने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेको छ,’ उनले भने।
यस्तै, अनुशासनको कारबाहीमा परेका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने निर्णय पनि बैठकले गरेको छ। कारबाही फुकुवा भएसँगै सोडारीलाई जिल्ला अध्यक्षको जिम्मेवारी पुन दिइएको छ।
प्रवक्ता श्रेष्ठले बैठकले एकीकृत पार्टीको पक्षमा अघि बढ्न अपील गरेको छ। प्रवक्ता श्रेष्ठका अनुसार मंगलबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा ३१५ जना केन्द्रीय सदस्य सहभागी थिए।











-1791359764.jpg)