प्रचण्डले भने- आधिकारिक नेकपा हामी हौं, बालुवाटारमा जे भयो त्यो नौटंकी हो
‘एक तिहाइभन्दा कम सदस्य उपस्थित रहेको बैठक पार्टीको आधिकारिक बैठक हुन सक्दैन,’ उनले भने,‘ बिहान बालुवाटारमा जे भयो त्यो नौटंकी हो।’
काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको भनिएको केन्द्रीय कमिटीको बैठक नौटंकी मात्रै भएको बताएका छन्।
मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफूपक्षधर केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले बालुवाटारमा एक तिहाइ भन्दा कम केन्द्रीय सदस्य उपस्थित भएको बैठक नौटंकी मात्रै भएको बताए।
‘एक तिहाइ भन्दा कम सदस्य उपस्थित रहेको बैठक पार्टीको आधिकारिक बैठक हुन सक्दैन,’ उनले भने,‘ बिहान बालुवाटारमा जे भयो त्यो नौटंकी हो।’
अध्यक्ष प्रचण्डले एक तिहाइ भन्दा कम सदस्य उपस्थित भएको बैठकमा दुई तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौटंकीबाहेक केही नभएको बताए। ‘जसरी निर्वाचन आयोगमा केन्द्रीय कमिटी सदस्य थपेर निर्वाचन आयोगमा बुझाइएको सूचना आएको छ। यस्तो अवैधानिक कामलाई निर्वाचन आयोग जस्तो वैधानिक संस्थाले मान्यता दिँदैन,’ उनले भने।
प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको केन्द्रीय कमिटी विस्तार गर्ने निर्णयप्रति पनि गम्भीर आपत्ति जनाए। ‘एकतिहाइ सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ?’ प्रचण्डले प्रश्न गरे। आफूहरुको बैठकमा ६५ प्रतिशतभन्दा बढी केन्द्रीय कमिटीका सदस्यहरु सहभागी भएकाले आधिकारिक बैठक यही भएको पनि प्रचण्डले दाबी गरे।
उनले संसद विघटन नभई ओली नेतृत्वको सरकारमात्रै विघटन भएको दाबी गरे। ‘संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन,’ उनले भने,‘विघटन भएको सरकार हो, संसद होइन।’
अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल आफ्नो समूहको बैठकमा सहभागी हुने दाबी पनि गरे। ‘उपाध्यक्ष गौतम पनि हामीसँगै आउनुहुन्छ। भोलि बादलले पनि आउने प्रतिबद्धता जनाउनुभएको छ,’उनले भने,‘६५ प्रतिशत सदस्य हामीसँगै रहेकाले यो समूह नै आधिकारिक नेकपा हो।’











-1791359764.jpg)