Kathmandu Press

‘जननिर्वाचित सरकारले काम गर्न नपाएपछि पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतामै हो’

‘जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनता नै हो,’ प्रधानमन्त्री ओलीले भने,‘जनअपेक्षामा आँच आउन नदिन मैले संसद विघटन गरेर निर्वाचनको बाटो रोजेको हुँ।’ 
‘जननिर्वाचित सरकारले काम गर्न नपाएपछि पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतामै हो’
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट जननिर्वाचित सरकारलाई काम गर्न नदिइएको बताएका छन्। 

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमतप्राप्त दलको नेता र सरकारको नेतृत्वकर्तालाई काम गर्न नदिएपछि जनअपेक्षामा आँच आउन नदिन आफूले संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णयमा पुगेको बताए। उनले जननिर्वाचित सरकारले काम गर्न नपाए पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनता नै भएको बताए। 

‘जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनता नै हो,’ प्रधानमन्त्री ओलीले भने,‘जनअपेक्षामा आँच आउन नदिन मैले संसद विघटन गरेर निर्वाचनको बाटो रोजेको हुँ।’ 

उनले नयाँ निर्वाचनले प्रधानमन्त्री बन्न ब्यग्र प्रतीक्षामा रहेका र प्रधानमन्त्री बन्न तयार रहेका नेताहरुको पनि परीक्षण हुने बताए। ‘केही साथीहरु प्रधानमन्त्री बन्न ब्यग्र प्रतीक्षामा हुनुहुन्छ भने केही प्रधानमन्त्री बन्न तयार हुनुहुन्छ। अब निर्वाचनबाट उहाँहरुको परीक्षण पनि हुनेछ,’ प्रधानमन्त्री ओलीले भने। 

जस्केलाबाट सरकारमा छिर्ने र सरकारको विरोध गर्नेको परीक्षण पनि निर्वाचनले गर्ने ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले संसदीय दलको नेता, अध्यक्ष र प्रधानमन्त्री रहेको आफूलाई थाहा नै नदिएर संसद अधिवेशनको माग गर्ने र आफूविरुद्ध अविश्वासको प्रस्तावको तयारी अघि बढाएर घेराबन्दी गर्न खोजिएको बताए। 

‘संसदीय दलको नेता र अध्यक्षलाई थाहा नै नदिएर संसदको अधिवेशन बोलाउन राष्ट्रपति कहाँ पुग्ने अनि मविरुद्ध अविश्वास प्रस्तावको तयारी अघि बढाइयो,’ उनले भने,‘जननिर्वाचित सरकारविरुद्ध घेराबन्दी र चाउपेच गर्नु पर्ने जायज के कारण थियो ?’  

प्रकाशित मिति: २१:३१ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्