शेयर बजारमा ५ दशमलव ६४ अंकको गिरावट
काठमाडौं, वैशाख २६ : निर्जीवन बीमा कम्पनीको उपसूचक र उत्पादन तथा प्रशोधन कम्पनीहरुको उपसूचकमा मात्र वृद्धि देखिएको छ। अन्य सबै उपसूचकमा देखिएको ग....
काठमाडौं, वैशाख २६ : निर्जीवन बीमा कम्पनीको उपसूचक र उत्पादन तथा प्रशोधन कम्पनीहरुको उपसूचकमा मात्र वृद्धि देखिएको छ। अन्य सबै उपसूचकमा देखिएको गिरावटले गर्दा बिहीबार समस्त दोस्रो बजार नै घट्यो।
साताका अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५ दशमलव ६४ ले घटेर १२९१ दशमलव ९६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४३ प्रतिशतकोे गिरावट देखिएको छ। आज दोस्रो बजार १२९७ दशमलव ६० को विन्दुमा खुलेको थियो भने १३०२ दशमलव ६२ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२९० दशमलव ११ थियो। आज दिनभरमा ९४ करोड ७३ लाख बराबरको शेयर किनबेच भएको छ। आज सानिमा बैंकको ३२ करोड ५० लाख बाराबरको प्रमोटर शेयर किनबेच भएको छ। जसको फलस्वरूप आज कारोबार रकममा वृद्धि देखिएको हो।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। सानिमा बैंक लिमिटेडको ३२ करोड ५० लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सगरमाथा इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ८ दशमलव ५१ प्रतिशतले कमाए भने प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव २४ प्रतिशतले गुमाए।
प्राथमिक बजार गतिविधि
-वैशाख २७ गते शुक्रबारबाट दुई लघुवित्तको आईपीओ निष्काशन हुँदैछ। जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्तले शुक्रबारबाट आइपीओ विक्री गर्दैछन्। दुबै कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिने छ। दुबै कम्पनीको आईपीओ वैशाख ३१ गते बन्द हुनेछन् भने सो समयसम्म सम्पूर्ण शेयरमा आवेदन नपरेमा जेठ २६ गतेसम्म समय थप गरिने छ।
-आज गुराँस लघुवित्तको आईपीओ बाँडफाँड भएको छ।
भोलिका प्रमुख गतिविधि
-ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेबाट ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। हकप्रदमा आवेदन दिने अन्तिम दिन जेठ ३० रहेको छ। ५० प्रतिशत हकप्रद शेयरका लागि चैत २९ गते बुक क्लोज भएको थियो। चैत २८ गतेसम्म कायम रहने शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
-नेशनल हाइड्रोपावरले वैशाख २७ गते आफ्नो वार्षिक साधारण सभा गर्दैछ। साधारण सभामा कम्पनीले कुनै पनि लाभांस दिने छैन।
शेयर सूचीकरण
मिर्मिरे लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्तिमा आजको मैनबत्तीले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज सात कारोबार दिनको बजार प्रवृत्तिसँग सानिमा बैँकको संस्थापक शेयरको परिमाणबाहेक अरु कारोबारलाई हेर्ने हो भने कारोबार सामान्य देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार तत्कालीन सामान्य टेवा १२९० देखि १२९५ को क्षेत्रमा रहेको भनिएको थियो। आज त्यही अनुरुप बजारले १२९० को टेवालाई परीक्षण गरिरहेको देखिन्छ। हाल बजार यही क्षेत्रमा आएर बन्द भएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसदेखि फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप हुन थालेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स ३९ दशमलव ९३ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप केही मात्रामा भएको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा विक्रेताको चाप रहेको र तत्काल बजार बढी हाल्ने संकेत गरेको देखिँदैन।
निष्कर्ष
माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारको तत्कालीन प्रतिरोध १२९६ मा रहेको देखिन्छ। यदि बजार १२९० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२८० मा रहेको देखिन्छ।