Kathmandu Press

कोरोना खोपबारे फैलाइएका भ्रम : खोपबाट मानिसमा चिप्स राखिन्छ र डीएनए परिवर्तन गरिन्छ

सामाजिक सञ्जालमा बिल गेट्सले खोपको प्रयोग गरेर मानव डीएनएमा परिवर्तन गराउन वा गडबडी गराउन खोजेका हल्ला निकै शेयर भएका छन्। तर, ती सबै मिथ्या सूचना भएको बीबीसीले गरेको फ्याक्ट चेकमा उल्लेख छ। 
कोरोना खोपबारे फैलाइएका भ्रम : खोपबाट मानिसमा चिप्स राखिन्छ र डीएनए परिवर्तन गरिन्छ

काठमाडौं, मंसिर २२ : कोरोना भाइरसको खोप बजारमा आउन लाग्दा यसबारेमा सामाजिक सञ्जाल र केही मिडियाहरुको केही मिथ्या भ्रम पनि फैलाइएको छ। 

विश्वभरबाट कोरोना भाइरसविरुद्धका खोपबारे निकै धेरै शेयर गरिएका केही मिथ्या दाबीमा खोपको नाममा मासिनको आनुवंशिक कोड परिवर्तन गर्न लागिएकोदेखि मानिसहरूमा माइक्रो चिप्स हाल्न लागिएकोसम्म गरिएको छ। 

सामाजिक सञ्जालमा अहिले विश्वभर फैलाइएको ठूलो झुट भने कोरोनाको खोपले कुनै न कुनै रूपमा मानिसको डीएनए परिवर्तन गरिदिन्छ भन्ने छ। बीबीसीका अनुसार कोरोना भाइरसका कुनै पनि खोपले मानव डीएनए परिवर्तन गर्दैन। 
अहिले विकास गरिएका केही नयाँ खोपमा (हालै युकेले स्वीकृति दिएको फाइजर र बायोएनटेकको खोपसहित) भाइरसको आनुवंशिक कण वा मेसिन्जर आरएनए प्रयोग गरिएको हुन्छ। 

‘मानिसको शरीरमा आरएनए पठाउँदा त्यसले मानव डीएनएमा केही असर गर्दैन,’ अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्रे आल्मन्डले बीबीसीसँग भनेका छन्, ‘यसले शरीरलाई कोरोना भाइरसको सतहमा हुने जस्तै प्रोटिन बनाउन लगाउँछ। त्यसपछि मानिसको प्रतिरोध प्रणालीले त्यस्ता प्रोटिनलाई चिन्छ र तिनलाई नाश गर्ने एन्टिबडी बनाउँछ।’

सामाजिक सञ्जालमा बिल गेट्सले खोपको प्रयोग गरेर मानव डीएनएमा परिवर्तन गराउन वा गडबडी गराउन खोजेका हल्ला निकै शेयर भएका छन्। तर, ती सबै मिथ्या सूचना भएको बीबीसीले गरेको फ्याक्ट चेकमा उल्लेख छ। 
सबै नयाँ खोपजस्तै कोभिडका खोपहरू पनि विभिन्न चरणमा परीक्षण गरिएको छ।

पहिलो र दोस्रो चरणमा थोरै संख्यामा मानिसमा यो कत्तिको सुरक्षित छ र कति  उपयुक्त हुन्छ भनेर परीक्षण गरिएका छन्। तेस्रो चरणमा भने खोप लगाएर हजारौँ मानिसमा यसको प्रभावकारिता परीक्षण गरिन्छ। 

धेरै शेयर भएका मिथ्या हल्लामा कोरोना भाइरस महामारी एउटा गोप्य योजना हो, जसको नाममा मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप्स जडान गर्न खोजिँदैछ भन्ने पनि छ। यो सबै योजनाका पछाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स भएको पनि दाबी गरिएको छ। 

तर, बीबीसीको फ्याक्ट चेकले कुनै खोपमा ’माइक्रोचिप्स’ नभएको र बिल गेट्सले यस्तो योजना पनि नबनाएको जनाएको छ।  बिल तथा मेलिन्डा गेट्स फाउन्डेशनले बीबीसीलाई यो हल्ला एकदमै असत्य भएको प्रतिक्रिया दिएको छ।

महामारीका बेला अर्बपति बिल गेट्सलाई जोडेर धेरै हल्ला फिजिएका छन्। उनले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण पनि उनी निशानामा परेको हुन सक्ने विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।

खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रुणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि चलाइएका छन्। तर, ती सबै असत्य भएको जनाइएको छ। ‘कुनै पनि खोप विकासको कार्यमा भ्रुणका कोष प्रयोग हुँदैनन्,’ साउद् याम्पटन युनिभर्सिटीका डा. माइकल हेडले बीबीसीलाई बताएका छन्।

अक्सफर्ड र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपबारे खोपविरोधी फेसबुक पेजमा भिडियो राखिएर त्यस्तो दाबी गरिएको थियो। यसबारे अन्योल उत्पन्न हुनुको एउटा कारण चाहिँ सम्भवतः प्रयोगशालामा खोप निर्माण गर्दा त्यही विकास गरिएका कोषको प्रयोग हुनु हो।

बीबीसीका अनुसार अनुसन्धानमा कुनै भ्रुणको प्रयोग भएका छैन। त्यसमाथि खोप लगाउने बेलामा त्यस्ता कोषको कुनै अंश बाँकी भएको हुँदैन। अनि यी कोष पनि गर्भपतन गरिएका शिशुका हुँदै हुँदैनन्।

-बीबीसी डटकमबाट अनुवाद
 

प्रकाशित मिति: ०१:०३ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्