Kathmandu Press

पारा तेक्वान्दोमा कविराजको अर्को फड्को

काठमाडौं, मंसिर २२ : प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन्। लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै...
पारा तेक्वान्दोमा कविराजको अर्को फड्को

काठमाडौं, मंसिर २२ : प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन्। लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उत्तीर्ण गरेका हुन्।

लामाले वर्ल्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएको अनलाइन लेबल–२ कोर्स उत्तीर्ण गरेका हुन्। पारा तेक्वान्दोको लेबल–२ कोर्स पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक पनि हुन्।

यसअघि लामाले गत असोजमा सञ्चालन भएको लेबल–१ परीक्षामा सफलता हात पारेका थिए। लेबल–१ कोर्स लामासँगै आयशा शाक्य र विकेश बिडारीले पनि पूरा गरेका थिए। लेबल–२ कोर्समा सहभागी हुन विश्व तेक्वान्दोले जारी गरेको गाल लाइसेन्स, राष्ट्रिय प्रशिक्षकमा कम्तिमा एक वर्षको अनुभव र वर्ल्ड तेक्वान्दोको आयोजनामा भएको कुनै एक प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको प्रावधान रहेका कारण नेपालबाट कविराज नेगी लामा मात्र सहभागी भएका हुन्।

लेबल–२ कोर्समा एसियाका १८ राष्ट्रका प्रशिक्षकहरु सहभागी भएका थिए। तीन दिने अनलाइन कोर्समा पारा तेक्वान्दोका विभिन्न विषयमा वर्ल्ड तेक्वान्दो फेडरेसनअन्तर्गत पारा कमिटीका उस्मान दिल्दार, चकिर चेल्बाट र नादेज्दा पेट्रोभाले प्रशिक्षण दिएका थिए।

सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन्।  वर्ल्ड तेक्वान्दो फेडरेसनको नयाँ नियम अनुसार हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकमा सहभागी हुन अनिवार्य रुपमा अन्तर्राष्ट्रिय पारा कोर्स उत्तीर्ण हुनुपर्ने प्रावधान छ।

जस अनुसार वर्ल्ड तेक्वान्दोको स्वीकृतिमा हुने जी–१ र जी–२ जस्ता क्षेत्रीयस्तरका प्रतियोगिताका लागि लेबल–१, एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताका लागि लेबल–२ र वल्र्ड च्याम्पियनसिप तथा पारा ओलम्पिकका लागि लेबल–३ गरेको हुनुपर्नेछ। वर्ल्ड तेक्वान्दोले यो नियम सन् २०२१ देखि लागु गरिने जनाएको छ।

प्रकाशित मिति: २३:०४ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्