परराष्ट्रद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौं, मंसिर २१ : परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ।...
काठमाडौं, मंसिर २१ : परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ। मन्त्रालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्।
विगत पाँचवर्षदेखि मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। आज सार्वजनिक भएको प्रतिवेदनमा नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन, एकीकृत परराष्ट्र नीति, नेपाल–भारत सीमाङ्कन, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको पूर्णतालगायत महत्वपूर्ण आयोजनाको समाप्ति, चीनका राष्ट्रपतिको राजकीय भ्रमण र त्यसै सन्दर्भमा दुई देशबीच भएका २० वटा समझदारीपत्रलगायत विषय समावेश गरिएको छ।
नेपालको विकासका साझेदारसँगको सघन सहकार्य, अष्ट्रिया, इण्डोनेशिया, लाओस, मलेसिया, म्यान्मा, पाकिस्तान, सर्विया र फिलिपिन्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी ७७, विश्व व्यापार सङ्गठन, सार्क, बिम्स्टेक, साङ्घाइ सहयोग संगठनलगायत बहुपक्षीय एवं क्षेत्रीय संगठनमा नेपालको सशक्त उपस्थिति र सहभागिता पनि प्रतिवेदनमा समेटिएको छ।
त्यसैगरी, राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यका नाताले आधारभूत मानवअधिकार संरक्षण र प्रवद्र्धनमा नेपालले निर्वाह गरेको भूमिका, आप्रवासी नेपालीको हकहितको रक्षा तथा सुरक्षा, कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार, स्वदेश फिर्तीमा सहजीकरणलगायत वर्षभरि मन्त्रालय र विदेशस्थित नेपाली नियोगले गरेका कामको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ।











