डोटी दुर्घटना : तीन वर्षीय बालकसहित चारको मृत्यु (अपडेट)
सिलगडी, मंसिर २१ : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा चार जना...
सिलगडी, मंसिर २१ : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको ज्यान गएको छ। उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। उनको टाउकोमा चोट लागेको थियो।
दुर्घटनामा बोगटन फुड्सिल गाउँपालिका–७ का वडासचिव २८ वर्षीया मञ्जु त्रिपाठी (अवस्थी), उनकी सासु ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका–४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत ४० वर्षीय हरिनारायण भट्टको घटनास्थ्लमै मृत्यु भएको थियो। बैतडी सुर्यनया गाउँपालिका–६ मुलखटालीकी मञ्जु फुड्सिलमा कार्यरति थिइन्।
त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–६ का ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी र २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएराति नै प्रहरी निरीक्षक रवीन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। घाइते चारै जनाको उद्धार गरी दिपायल पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप गएराति करिब १ बजेतिर दुर्घटनामा परेको हो।











