नेकपा स्थायी कमिटी बैठक आज बस्दै, ओली सहभागिताबारे अनिश्चित
काठमाडौ, मंसिर २१ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो १ बजे...
काठमाडौ, मंसिर २१ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आआफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुने बताईएको छ ।
विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको भन्दै सहभागी नहुने संकेत दिइसकेका छन् । त्यसैले आजको बैठकमा ओली सहभागी हुने बारेमा अनिश्चित रहेको छ ।
पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट रहँदै आएका छन् ।
सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका ओलीविरूद्ध दाहाल नेपाल पक्षले बहुमतबाट निर्णय गर्न खोजेका छन् ।











