‘समाजका कुरामात्रै सुन्नु हुँदैन, जीवनको अस्तित्व र महत्व भिन्नै छ’
महिलाहरूले भोगेका कष्ट र उनीहरूको अस्तित्वको महत्त्व समाजका कतिपय मानिसले अझै बुझ्न सकेका छैनन् । त्यस्ता मानिसलाई महिला स्वतन्त्र छन् र आफूले लिएको लक्ष्य पूरा गर्ने सामर्थ्य राख्छन् भन्ने सन्देश पुर्याउन समेत साहित्य सहयोगी हुने आशा छ ।नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित हुने नागरिक दैनिक पत्रिकाकी निर्देशक शोभा ज्ञवालीसामाजिक कार्यमा पनि सक्रिय छन् । योसँगै उनी कथा–साहित्य र नियात्रा लेखनमा रुचि राख्छिन् । भर्खरै उनको कथा संग्रह ‘सम्पूर्ण आकाश’ मञ्जरी पब्लिकेसनबाट बजारमा आएको छ । यसै कथा संग्रहबारे ज्ञवालीसँग काठमाडौंप्रेसकर्मी सोनी शाहीले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
‘सम्पूर्ण आकाश’ कस्तो किताब हो ?
यस किताबमा हाम्रो समाजमा देखिएका र सुनिएका कुरालाई अक्षरको रूप दिएर सबै सामु प्रस्तुत गर्न खोजेकी छु । यसमा जम्मा २५ वटा कथा समावेश छन् । जसमध्ये कुनै कथा पत्रपत्रिकामा पूर्वप्रकाशित छन् भने केही केही नयाँ कथा छन् ।
यस संग्रहमा ‘बुहारी भित्रिएको क्षण’, ‘अस्तित्व’, ‘त्याग’, ‘गर्न नसकेको विद्रोह’, ‘अन्तिम निर्णय’ लगायत कथा रहेका छन् । मैले यी कथामा महिलाले समाजको पर्वाह गरेर आफ्ना लागि आवश्यक निर्णय गर्न नसकेको अवस्थालाई प्रस्तुत गर्न खोजेकी छु । यस्तै यस कथासंग्रहमा समाजका कुरामा लागेर जीवन खेर फाल्नु हुँदैन, जीवनको अस्तित्व र महत्त्व भिन्नै छ भन्ने दर्शाउन खोजेकी छु ।
किताबको नाम ‘सम्पूर्ण आकाश’ नै किन ?
हामी महिलाहरू गृहिणी, वर्किङ–वुमेन वा अन्य कुनै क्षेत्रमा रहे पनि हरेक काम परिपक्व तरिकाले गर्न खोज्छौँ । उदाहरणका लागि कुनै अफिसमा कार्यरत महिलाले अफिसबाट घर जाँदा बाटोमा समेत ‘घरमा गएर यो यो काम भ्याउँछु’ भनेर सोचिरहेकी हुन्छे । घर पुगेपछि खाना बनाउने, खुवाउने, बच्चाहरूलाई हेर्ने लगायत थुप्रै घरायसी काम हुन्छन् । यति मात्र नभई घरको सबै काम सकिएपछि अफिसको प्रोजेक्ट–वर्क के के छ भनेर त्यसतिर लागिरहेका हुन्छौँ ।
महिलाहरूले भोगेका कष्ट र उनीहरूको अस्तित्वको महत्त्व समाजका कतिपय मानिसले अझै बुझ्न सकेका छैनन् । त्यस्ता मानिसलाई महिला स्वतन्त्र छन् र आफूले लिएको लक्ष्य पूरा गर्ने सामथ्र्य राख्छन् भन्ने सन्देश पुर्याउन समेत साहित्य सहयोगी हुने आशा छ ।
हामी महिला यति धेरै काममा अभ्यस्त भएर पनि सबै काममा शतप्रतिशत दिने प्रयास गरिरहेका हुन्छौँ । यसरी महिलाले गर्ने यस्ता कार्यले उनीहरूको अस्तित्व र दायित्व पूरै संसारभरि फैलिएको छ भन्ने दर्शाउन यस किताबको नाम ‘सम्पूर्ण आकाश’ राखिएको हो । अर्कोतिर, हामीकहाँ महिलालाई ‘आधा आकाश’ पनि भनेको सुनिन्छ । यो किन र कसरी भनियो भन्ने मलाई जानकारी छैन तर मलाई लाग्छ, महिला पनि र पुरुष पनि आधा–आधा होइनन्, आफैँमा सम्पूर्ण हुन् । यसर्थ यो नाम राखिएको हो ।
महिलाले भोगेका कष्ट र उनीहरूको अस्तित्वको महत्त्व समाजका कतिपय मानिसले अझै बुझ्न सकेका छैनन् । त्यस्ता मानिसलाई महिलाहरू स्वतन्त्र छन् र आफूले लिएको लक्ष्य पूरा गर्ने सामथ्र्य राख्छन् भन्ने सन्देश पुर्याउन समेत साहित्य सहयोगी हुने आशा छ ।
किताब लेख्न कसरी प्रेरित हुनुभयो ?
म एउटा सामान्य परिवारमा जन्मिएर त्यही वातावरणमा हुर्केकी हुँ । भविष्यमा केही गर्नुपर्छ भन्ने बालापनदेखि नै मनमा हुन्थ्यो । आफैँ एक महिला भएर युवा अवस्थामा आइसक्दा समाजमा भएका धेरै सकारात्मक र नकारात्मक कुरा देखेँ, भोगेँ ।
पछि म विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध भएँ । यसरी विभिन्न क्षेत्रका महिलासँग अन्तक्र्रिया भयो । उहाँहरुका कुरा सुन्न पाएँ । महिला राम्रै कामका लागि घरबाहिर निस्कँदा पनि समाजले नराम्रो भनेको, समाजबाट आउने नकारात्मक कुराको सामना गर्दै बाहिर निस्किनुपरेको मैले देखेँ । यस्ता धेरै पक्षहरूले मलाई किताब लेख्न प्रेरणा दियो ।
यो समाजमा मानिसका लुकेका कथा धेरै छन् । ती कथामा महिलामाथिका विभेद, महिलाले गरेका विद्रोह पनि छन्, त्यसलाई बाहिर ल्याउनुपर्छ भन्ने भावनाका कारण पनि कथाहरु लेख्दै गएँ र संग्रह तयार भयो भन्ने लाग्छ । यो किताबमा मैले महिलाहरूको कथालाई मात्र फोकस गरेर प्रस्तुत गरेकी छु ।
तर कतिपय पुरुषहरू पनि उत्तिकै पीडित भइरहेका हुन्छन् । श्रीमती कहाँ गएको ? किन समयमै घर नआएको ? लगायत कुराले गर्दा पनि उनीहरू फ्रस्ट्रेड भइरहेका हुन्छन् । कुनै पनि महिलाले आफ्नो श्रीमान्लाई यस्तो व्यवहार गर्न हुँदैन । यस किताबमा यस्ता कुराको पनि केही हदसम्म उल्लेख गरी सबैले आफूलाई केलाउनुपर्छ भन्ने सन्देश दिन खोजेकी छु ।
किताब र वास्तविकतामा के फरक पाउनुभयो ?
कतिपय अवस्थामा हामी आफूले गरेको गल्ती देख्दैनौँ । कहीँ पढेर वा हेरेर पनि हामीबाट भएका गल्तीहरूको मनन गर्न सकिन्छ ।कसैले किताब पढेर महसुस गर्न सक्छ । मैले समाजमा स्थापित वास्तविकताहरूलाई नै किताबमा उल्लेख गरेको भएर किताब र वास्तविकतामा खासै फरक छैन ।
‘सम्पूर्ण आकाश’ कथासंग्रहका विशेषता के–के छन् ?
यस किताबको मुख्य विशेषता भनेको यसमा समाजमा भएका कुरालाई नै दर्शाएकी छु । हामी आफैँले आफूलाई चिन्नुपर्छ । मेरो शक्ति केमा छ, मैले के गर्न सक्छु, मेरा लागि के राम्रो भन्ने मैले आफैँ बुझ्नुपर्छ ।
आफूलाई प्रमाणित गर्न केही संघर्ष गर्नुपर्छ । आफ्नो कामलाई निरन्तरता दिने र सधैँ सकारात्मक सोच राख्नैपर्छ भन्ने सन्देश प्रवाह गर्ने प्रयास नै यस किताबको मूल विशेषता हुन् । यस्तै सन्देश हाम्रो समाजमा पुर्याउन अर्को पनि किताब प्रकाशनको तयारीमा छु ।