नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना, प्रचण्ड-नेपाल समूह भन्छ- बैठक रोकिँदैन
काठमाडौं, मंसिर २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि...
काठमाडौं, मंसिर २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ।
सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि बालुवाटारमै बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि शनिबारका लागि बैठकको मिति तय गरिएको थियो।
तर, शनिबारको बैठकमा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने सम्भावना बढेको छ। दुई अध्यक्षबीच समझदारी नहुँदासम्म बैठकमा सहभागी नहुने प्रधानमन्त्री ओलीको अडान रहेको उनी निकट स्रोतले जनाएको छ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक अघि बढ्न सक्ने बताएका छन्।
‘दुई अध्यक्षबीच कुनै पनि खालको समझदारी भएको छैन। त्यसैले प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुने सम्भावना कम छ,’ प्रधानमन्त्रीनिकट एक नेताले भने।
तर, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली नआएपनि बैठक नरोक्ने रणनीतिमा छ।
‘प्रधानमन्त्री उपस्थित नभएपछि आजको सचिवालय बैठक र मंसिर २१ का लागि बोलाइएको स्थायी कमिटी बैठक बस्छ,’ प्रचण्डनिकट एक नेताले भने।











