प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली
काठमाडौं, मंसिर २० : काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ।गत असोज १ गतेदेखि...
काठमाडौं, मंसिर २० : काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत ४३ करोड २६ लाख ५५ हजार ५७२ रुपैयाँ राजस्व असुल गरेको छ।
गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व संकलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा २१ करोड ५० लाख असुल गरेको छ। त्यसैगरी सम्पत्ति करमा १० करोड ७१ लाख र व्यवसाय करमा चार करोड ४४ लाख रूपैयाँ असुल गरेको कामपाले जानकारी गराएको छ।
अहिलेसम्मा सबैभन्दा बढी वडा नम्बर १ बाट तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट २२ करोड ३५ लाख ५२ हजार र सबैभन्दा कम वडा १८ बाट चार लाख ९८ हजार रूपैयाँ असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार अनलाइन प्रणालीबाट राजस्व सङ्कलन कार्यलाई नागरिकले सहजसाथ लिएका छन्। कर तिर्नका लागि कार्यालयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ। यहीअनुरुप कर संकलन भए लक्ष्यभन्दा बढी असुल हुनेछ। गत आर्थिक वर्षमा कोरोनाले असर पारे पनि लक्ष्यको ८३ प्रतिशत रकम असुल गरेको थियो।
अनलाइन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो। यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो। अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन्। तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन्। यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांकन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ।
करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ। यसबाट कसलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ।
करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानून र दरका आधारमा कर मूल्यांकनलाई रुजु गरी स्वीकृत गर्नेछन्। त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्ट आइपीएस, फोनपे, आइएमइपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन्। रासस











