Kathmandu Press

डोटीमा फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

डोटी, मंसिर १९ : जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र...
डोटीमा फरार कैदीबन्दी पक्राउ, सुरक्षामा खटिएका तीन प्रहरी निलम्बन

डोटी, मंसिर १९ : जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ। सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि उनलाई जिल्ला बाल सुधार गृह डोटीमा राखेको थियो।

गएराति करिब ११ बजे फरार भएका बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँको जङ्गलबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना सङ्क्रमण पुष्टि भएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनले बिहीबार राति करिब ११ बजेको समयमा अस्पतालको शौचालयको भेन्टिलेसन फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए। 

पक्राउ परेका फरार अभियुक्त बोहरालाई अब जिल्ला अस्पतालमा राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रहरी प्रमुख पाण्डेयले जानकारी दिए। आइसोलेसनबाट हत्या अभियोगी बोहरा फरार भएपछि उनको सुरक्षाका लागि त्यहाँ खटिएका तीना जना प्रहरीलाई निलम्बन गरिएको छ।

सुरक्षामा खटिएका तीन प्रहरी निलम्बनमा

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या अभियोगी बोहराको सुरक्षामा अस्पतालको आइसोलेसनमा खटिएका सबै प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताए।

उनले भने, “बोहराको सुरक्षाका लागि खटिएका प्रहरीको सुरक्षा जिम्मेवारीमा कही कमीकमजोरी तथा लापर्वाही भएको देखियो, सबैलाई निलम्बन गरी घटनासम्बन्धी आवश्यक छानबिन हुनेछ।” 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका बोहोरालाई उमेर कम भएका कारण पुर्पक्षका लागि जिल्ला बालसुधार केन्द्र डोटीमा पठाइएको थियो।

पुर्पक्षका लागि बालसुधार केन्द्रमा राखिएका बोहरालाई केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएपछि उनीसहित अन्य चारजनालाई बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। रासस

प्रकाशित मिति: २१:५१ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्