सिमेन्ट खानी क्षेत्रमा बम विस्फोट, चार मजदुर घाइते
उदयपुर, मंसिर १९ : सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा चार जना मजदुर घाइते भएका छन्।उदयपुरको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको...
उदयपुर, मंसिर १९ : सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा चार जना मजदुर घाइते भएका छन्।
उदयपुरको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा गएराति बम विस्फोट भएको हो। राति सवा १२ बजे भएको विस्फोटमा चार जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ।
विस्फोटमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, कटारी ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
खानी क्षेत्रमा चार वटा बम एकै पटक विस्फोट भएको जनाएको छ। बम राख्नेको भने पहिचान हुन सकेको छैन।
विस्फोटमा परि चार वटा एक्स्काभेट र एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











