तनहुँमा पौडेलमाथिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत : कांग्रेस
काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफतारी सर्वसत्तावादको संकेत भएको बताएको छ। सभापति शेरबहादुर देउवाले बुधबार साँझ...
काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफतारी सर्वसत्तावादको संकेत भएको बताएको छ।
सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गरी वरिष्ठ नेता पौडेलमाथि भएको घटना आपत्तिजनक र निन्दनीय भएको उल्लेख गर्दै सरकारको यस्तो प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी सरकारलाई दिएका छन्।
तनहुँको ब्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल उद्घाटन कार्यक्रममा जाँदै गर्दा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।
‘तनहुँको ब्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाद्वारा वारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, देउवाले पौडेलमाथि भएको सरकारको निन्दनीय व्यवहारको भत्सना पनि गरेका छन्। उनले तत्काल नेता पौडेललाई रिहा नगरे उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार रहन सरकारलाई चेतावनी पनि दिएका छन्।
‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु,’ देउवाले भनेका छन्।











