सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित, अर्को बैठक मंसिर २० मा बस्ने
काठमाडौं, मंसिर १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ। बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको हो।प्रधानमन्त्री निवास...
काठमाडौं, मंसिर १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। प्रधानमन्त्री एवं अध्यक्ष ओली बैठकमा सहभागी नभएपछि आगामी बैठकमा मंसिर २० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए।
पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री समेतको उपस्थित छलफल गर्न आवश्यक र उचित हुने भन्दै सचिवालय बैठक केहीबेर बसेर सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘सचिवालयको बेठक अध्यक्ष केपी र उपस्थित हुनु भएन। त्यसैले आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्य्मान समस्या समाधानका लागि प्रधानमन्त्री समेतको उपस्थितिमा छलफल गर्न आवश्यक र उचित हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ प्रवक्ता श्रेष्ठले भने। उनले आगामी बैठकमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको अपेक्षासहित बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ बैठक सकिएको बताए।
पार्टी गम्भीर र संवेदनशील मोडमा रहेको बताउँदै उनले भने,‘असामान्य परिस्थितिमा संवेशदशीलताका साथ प्रक्रिया र छलफल अघि बढाउने र निर्णय लिनु उचित हुन्छ भन्ने बैठकको निष्कर्ष हो।’ उनका अनुसार सचिवालयको अर्को बैठक मंसिर २० गते दिउँसो १ बजेका लागि तय गरिएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष ओली बैठकमा आउनु भएन भने के गर्नुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने,‘प्रधानमन्त्री आउनु हुन्न भन्ने विषयमा हामी सोच्न पनि सक्दैनाँै।’
यस्तै, सचिवालय बैठक मंसिर २० का लागि तय भएपछि मंसिर १८ मा बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि तीन दिनपछि धकेलिएको छ। प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको बैठकले मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटीको बैठक मंसिर २१ गते दिउँसो १ बजे बस्ने सारिएको छ।











