Kathmandu Press

परराष्ट्र सचिवस्तरीय वार्ता : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता !

काठमाडौं, मंसिर ११ : नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै...
परराष्ट्र सचिवस्तरीय वार्ता : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता !

काठमाडौं, मंसिर ११ : नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

करिव एक वर्षको अन्तरालपछि राजधानीमा आज भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो भने भारतले आजै भएको अर्को एक सार्वजनिक कार्यक्रममा सोही विषयमा जोड दिँदै ऐतिहासिक एवं मानव सभ्यतासँग जोडिएको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने दृढता व्यक्त गरेको छ। 

कोभिड–१९ सङ्क्रमितको उपचारका लागि भारतीय जनता र सरकारका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई २ हजार भाएल रेम्डिसिभिर इञ्जेक्सन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मन्त्रालयको प्रेक्षालयमा हस्तान्तरण गरेपछि भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले सचिवस्तरीय बैठक तथा मन्त्री ज्ञवालीसँगको भेटवार्ता उपलब्धिमूलक भएको बताए। 

“द्विपक्षीय सहयोगको समीक्षाका साथै आपसीहितका विविध विषयमा छलफल भए, हामी नेपालसँगको सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर बनाउन प्रतिबद्ध छौँ”, आफ्ना समकक्षी भरतराज पौड्यालसँगको भेटवार्ता, द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठक र मन्त्री ज्ञवालीसँगको भेटको सार सुनाउँदै उनले भने।

भारत र नेपालका राजनीतिक नेतृत्वको चाहनाबमोजिम द्विपक्षीय सहयोग एवं साझेदारीलाई अझ घनीभूत तुल्याउन आपसी लाभका परियोजना बढाउने सहमति सचिवस्तरीय बैठकमा भएको जानकारी दिँदै उनले बैठक फलदायी र छलफल सार्थक रहेको टिप्पणी गरे। 

बैठकमा आफूहरूले विस्तृत र बहुआयमिक प्रकृतिका धेरै विषयमा विचारविमर्श गरेको तथा पारस्परिक हितका सहयोगका केही परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न सहमति जनाएको सचिव श्रृङ्गलाले बताए।  “दुवै पक्षले धैरै द्विपक्षीय प्रयास र परियोजनाहरूमा भएका प्रगतिको सराहना गर्‍यौँ, आपसी सहकार्यलाई अझ सशक्त रुपमा अघि बढाउन थप प्रयत्न गर्ने सहमति पनि भएको छ”, उनले भने।

कोभिड–१९ विरुद्धकf लडाइँमा नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्‍याउँदै उनले भारतमा उत्पादन हुने खोप बजारमा आउनेवित्तिकै नेपालसहित छिमेकीलाई प्राथमिकता साथ उपलब्ध गराइने आश्वासन दिए। मन्त्री ज्ञवाली र सचिव पौड्यालसँग त्यससम्बन्ध आफूले छलफल गरेको जानकारी पनि उहाँले दिनुभयो । कोरोना भाइरसको महामारीबाट पारपाउन द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चहरूमा आपसी सहकार्य र साझेदारी अपरिहार्य भएको उनको भनाइ थियो। 

कोभिड–१९ का कारण बन्दाबन्दी लागू गरिँदा पनि द्विपक्षीय व्यापारका साथै अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति निर्वाधरुपमा गरिएको बताउँदै विदेश सचिव श्रृङ्गलाले द्विदेशीय सम्बन्धलाई थप गतिशील तुल्याउन सम्बद्ध नेपाली अधिकारीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू तत्पर रहेको स्पष्ट पारे।

मन्त्री ज्ञवालीले सचिव श्रृङ्गलाको भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याउन उपयोगी भएको बताउँदै दुई देशबीच समाधान गर्न बाँकी विषयलाई सम्बोधन गर्न तथा विश्वासको वातावरण बनाउन आधारशिला तयार पारेको विचार व्यक्त गरे। कोभिड–१९ बाट प्रभावित भारतले अहिलेको कठिन परिस्थितिमा पनि उदारतापूर्वक रेम्डिसिभिर इञ्जेक्सन उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै मन्त्री ज्ञवालीले प्राप्त स्वास्थ्य सामग्री अमूल्य जीवन जोगाउन सहयोगी हुने बताए।  

प्रतिनिधिमण्डलस्तरीय बैठकमा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह ९इपिजी०को प्रतिवेदनलगायत विषयमा छलफल भएको थियो। 

नेपालले सिमाना समस्याका विषयले द्विपक्षीय विकासका परियोजना प्रभावित हुन नहुनेमा जोड दिँदै सूचना तथा सञ्चार प्रविधि, अन्तरदेशीय सम्पर्क सञ्जाल तथा एकीकृत जाँच चौकी (आइसिटी)निर्माणलगायत आर्थिक–सामाजिक रुपान्तरणमा योगदान गर्ने भौतिक पूर्वाधार विकासमा केन्द्रित रहेर आफूलाई बैठकमा प्रस्तुत गरेको थियो। भैरहवामा पनि एकीकृत जाँच चौकी निर्माणमा सघाउन भारतसमक्ष नेपालले आग्रह गरेको थियो । नेपालको उक्त आग्रहको भारतीय पक्षले सकारात्मक जवाफ दिएको बैठकमा सहभागी एकजना भारतीय अधिकारीले बताए। 

अध्यागमन र भन्सारसम्बन्धी सबै प्रक्रिया एउटै छानामुनि पूरा गर्दै मालवाहक सवारी साधनलाई सहजतापूर्वक गन्तव्यतर्फ पुग्ने वातावरण बनाएर द्विदेशीय व्यापारलाई झन्झटरहित बनाउन नेपाल–भारत सीमा क्षेत्रमा भारतले एकीकृत जाँच चौकी निर्माण गरिरहेको छ। वीरगञ्ज–रक्सोल र विराटनगर–जोगवनी नाकामा ती पूर्वाधार निर्माणपछि सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्ज–रुपेडियामा पनि गत बिहीबारदेखि आइसिटी निर्माण थालिएको छ। 

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध भारतका विदेश सचिवको यो भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने दुवै देशका नागरिकको अपेक्षा साकार हुने आजका भेटवार्ता र उनका सार्वजनिक अभिव्यक्तिले सङ्केत गरेका छन्।
सचिवस्तरीय बैठकपछि सञ्चारकर्मीमाझ नेपाली भाषामा नै बोलेर उनले चिसिएको सम्बन्धलाई नयाँ शिराबाट पुनः स्थापना गरेर अघि बढ्न नयाँदिल्ली तयार रहेको सन्देश दिएका छन्। रासस
 

प्रकाशित मिति: ०१:४० बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्