बर्दिवास तनाव : प्रदर्शनकारी र प्रशासनबीच चार बुँदे सहमति
महोत्तरी, मंसिर ११ :स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको बर्दिवासको तनाव साम्य हुँदै गएकाे छ। तर, महाेत्तरी र अन्य जिल्लाका...
महोत्तरी, मंसिर ११ :स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको बर्दिवासको तनाव साम्य हुँदै गएकाे छ। तर, महाेत्तरी र अन्य जिल्लाका केही स्थानमा भने आज पनि प्रदर्शन जारी रहेकाे छ।
बर्दिबासमा ६ वर्षीया बालिकाको अपहरणपछि हत्या भएपछि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीको गोली लागी घाइते भएका एक युवकको मृत्यु भएको थियो। त्यसपछि झन तनाव बढेको थियो।
बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको हो। यो चारबुँदे सहमतिको नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले हस्ताक्षर गरेका छन्।
दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउन दुवै पक्ष सहमत भएका छन्। यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरका छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेका छन्।
गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र मङ्गलबार बर्दिबासमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास–१ का बुद्धिराज (सञ्जय) न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर र गौशालासहितका ठाउँमा प्रदर्शन भएका थिए। बर्दिबासमा जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले दिनभर प्रदर्शन गरेका थिए।
गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरातमा उनको घर नजिकै बोरामा खाँदिएको अवस्थामा फेला पारेको थियो। यस घटनामा प्रहरीले गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ।
बालिकाको शव बरामद भएपछि मङ्गलबार बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलाई भगाउन गोली प्रहार गर्दा सञ्जय न्यौपाने र बर्दिबास–५ का श्याम कार्की घाइते भएका थिए। न्यौपानेको उपचारको क्रममा मृत्यु भइसकेको छ भने कार्कीको काठमाडौँमै उपचार भइरहेको छ।
अर्का बाँसको भाटाले लागेर घाइते भएका अफताव आलम बर्दिबासकै उपचारले निको हुँदै गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए।











