वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित हुँदा शेयर बजार १३०० नजिक, अझै कति बढ्ला?
काठमाडौं, वैशाख २३ : वाणिज्य बैंक उपसूचकमा अन्तिम एक घण्टामा आएका आक्रामक खरिदकर्ताले गर्दा समस्त दोस्रो बजारमा नै सोमबार दोहोरो अंकको वृद्धि देख....
काठमाडौं, वैशाख २३ : वाणिज्य बैंक उपसूचकमा अन्तिम एक घण्टामा आएका आक्रामक खरिदकर्ताले गर्दा समस्त दोस्रो बजारमा नै सोमबार दोहोरो अंकको वृद्धि देखिएको छ।
बजारको उच्च विन्दु र अन्तिम विन्दु एकै भएकाले सोमबार बजार इण्ट्राडे हाइमा बन्द भएको छ। इण्ट्राडे हाइले मंगलबारको पहिलो घण्टामा खरिदकर्ता नै सक्रिय हुने प्रवृत्ति देखाउँछ। बजारले मंगलबार १३०० को मनोवैज्ञानिक अवरोधलाई राम्रै परीक्षण गर्ने देखिन्छ।
वाणिज्य बैंकहरुको तेस्रो त्रैमासको वित्तीय विवरणमा लगानीकर्तालाई खुशी बनाउने खालको विवरण र सूचकमा राम्रो वृद्धि देखिएकाले लगानीकर्ताको वाणिज्य बैंक समूहमा विशेष चासो देखिँदै आएको छ।
साताको दोस्रोे कारोबार दिन सोमबार नेप्से परिसूचक २१ दशमलव ७३ ले वृद्धि भएर १२९९ दशमलव ४१ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा १ दशमलव ७० प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२७७ दशमलव ६८ को विन्दुमा खुलेको थियो भने १२९९ दशमलव ४१ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२७० दशमलव ०६ थियो भने सोमबार दिनभरमा ६३ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ४ करोड ९४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ७८ प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ६ दशमलव २७ प्रतिशतले गुमाए।
शेयर सूचीकरण
आज भार्गव विकास बैँकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख २३ गते बजार १२९९ दशमलव ४१ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको मैनबत्तीले बियरिस मारुबोजु आकृति बनाएको थियो भने त्यही अनुरुप आज बजार केही सच्चिएपनि बजारको अन्तिम समयमा खरिदकर्ताको चापले गर्दा बजार बढेको छ। दुई दिनको मैनबत्तीले बुलिस एनगल्फिङ्ग आकृति बनाएको छ। यसले बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्न ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहन सकेमा बजार केही सकारात्मक हुन सक्ने र यदि बजार तल्लो प्रवृत्ति रेखाभन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने सम्भावना रहेको थियो।
आज कारोबारको पहिलो समयमा बजार तल्लो प्रवृत्ति रेखाभन्दा तल आएपनि निश्चित रुपमा तोड्न असफल रह्यो। तर, कारोबार समयको मध्य समयमा बजारले माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्न सकेको र हाल बजार १२९५ देखि १३०० को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारको अन्तिम समयमा क्रेताको चाप हाबी रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ८० दशमलव ९२ अंकमा रहेको छ। यसले कारोबारको पछिल्लो समयमा शेयर बढी खरिद भएको जनाएपनि बजार सच्चिहाल्ने संकेत भने दिएको देखिँदैन। परिमाणले पनि अन्तिम समयमा बजारको प्रवृत्तिलाई समर्थन गरेको देखिन्छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार १३०० भन्दा माथि स्थिर रहन सकेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को मुख्य प्रतिरोध १३१५ देखि १३२५ को क्षेत्रमा रहेको देखिन्छ। तत्कालीन सामान्य टेवा १२७० देखि १२७७ को क्षेत्रमा रहेको देखिन्छ।