Kathmandu Press

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट, खर्च करिब ६० अर्ब लाग्ने

काठमाडौं, मंसिर १० : सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ ।...
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट, खर्च करिब ६० अर्ब लाग्ने

काठमाडौं, मंसिर १० : सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको  खोप परीक्षणमा रहेका  भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टेलिया लगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउदैँ उन भने, “ठूलो सङ्ख्यामा होम आइसोलेसनमा बसेका बिरामीलाई घरघरमा स्वास्थ्य सेवा पुर्याउनु र रेखदेख गर्नु अहिलेको मुख्य चुनौती हो ।

कोभिड–१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ छ ।

८० प्रतिशतलाई लक्षण देखिन्न 

संक्रमित मध्ये ८० प्रतिशतभन्दा बढीलाई लक्षण नदेखिने कारणले केहीलाई यो रोग केही होइन भन्ने मनोवैज्ञानिक भ्रम परेको चिकित्सक बताउँछन । सक्रिय सङ्क्रमितमध्ये हाल ८२ प्रतिशत नागरिक होम आइसोलेसनमा छन् । कोभिड–१९ को नेपालमा हालसम्म १६ लाख ५० हजार भन्दाबढीको पिसीआर परीक्षण भइसकेको छ ।

अहिले मुलुकका ७६ स्थानमा परीक्षणको व्यवस्था गरिएको छ । सरकारले औषधिको सहज आपूर्तिका लागि आयात गर्न आवश्यक ऐन कानूनलाई परिमार्जन गरिसकेको जानकारी दिएको छ । धेरैभन्दा धेरै अस्पतालमा अक्सिजनसहित शय्या व्यवस्थापन र सहजरूपमा औषधि आपूर्ति गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । खोप उत्पादन हुनसाथ सरकार–सरकारबीचको सहमति तथा विश्व स्वास्थ्य सङ्गठनलगायतका सङ्घसंस्थाका माध्यमबाट समेत ल्याउने योजना बनाइएको छ ।

कोरोनाले विश्वका शक्ति र सामथ्र्य भएका  मुलुकलाई समेत तहसनहस बनाएका जनाउँदै सरकारले निःसन्देह महामारी विरुद्ध सबै लिङ्ग, जाति, क्षेत्र भूगोल र समुदाय एकाकार भई अभियानमा जुट्न पटकपटक आह्वान गरेको छ ।

२० प्रतिशतलाई खोप सुनिश्चित

केही ढिलो भए पनि कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले भने, “अरु देशका नागरिकले खोप प्रयोग गर्दा हाम्रा नागरिकले पनि प्रयोग गर्न सकुन् भनेर सरकार त्यो काममा जुटिरहेको छ ।” अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन ।

उक्त उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।

खोपलाई ६० अर्ब

यद्यपि उक्त खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै यकिन भइसकेको छैन । गाभी–कोभ्याक्स् नामक संस्थाले  नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने लागत मूल्यको २० प्रतिशत सहुलियत मूल्यमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने वचन दिइसकेको छ ।

उक्त खोपका लागि करिब रु ६० अर्ब लाग्ने भएकाले रकमको व्यवस्थापन पनि चुनौतीकै रूपमा छ । नेपालमा उक्त खोप प्राप्त भइसकेपछि सबैभन्दा पहिला कसलाई दिने भनी प्राथमिकता निर्धारण गर्नुपर्ने छ । तथापि स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा रहेर काम गर्ने  र  ५५ वर्ष उमेर समूहमाथिलाई प्राथमिकता दिनुपर्ने एकखाले सुझाव प्राप्त भएको जानकारी दिइएको छ ।

सम्भावना, प्रभावकारी र मुलुकको क्षमताका आधारमा ती खोपको छनोट हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, मंसिर १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्