Kathmandu Press

पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज

वासिङ्टन, मंसिर ७ : अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ। अमेरिकी...
पेन्सिल्भेनिया राज्यको मतगणना उल्ट्याउने ट्रम्पको निवेदन खारेज

वासिङ्टन, मंसिर ७ : अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ। 

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहेका छन्। तर पेन्सिल्भेनिया राज्यका न्यायाधीशले दिएको फैसलाले ट्रम्पको अभियानमा ठूलो धक्का लागेको छ। 

यो निर्णयसँगै पेन्सिल्भेनिया राज्यले राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनको पक्षमा मतपरिणाम सदर गर्न बाटो खुलेको छ। अब सोमबार पेन्सिल्भेनिया राज्यले बाइडेन विजयी भएको प्रमाणपत्र दिनेछ।

Hardik ivf

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ कार्यक्रम नजिकिँदै जाँदा ट्रम्पको कानुनी टोलीले भने केही राज्यबाट बाइडेनलाई विजयी भएको प्रमाणपत्र दिन ढिलाई गर्ने योजनामा ध्यान दिइरहेको छ। तर ट्रम्पको कानुनी टोलीले दर्ता गरेका कैयौं निवेदनलाई सम्बन्धित राज्यका न्यायाधीशहरुले पर्याप्त आधार प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन्। 

न्यायाधीश म्याथ्यू ब्रानले आफ्नो आदेशमा ट्रम्पको कानुनी टोलीले पेन्सिल्भेनिया राज्यमा हुलाकबाट प्राप्त मतपत्रका बारेमा उचित र पर्याप्त प्रमाण पेश गर्न नसकेको बताएका छन्। 

बाइडेनले हालसम्म ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने राष्ट्रपति ट्रम्पले २३२ मत मात्र प्राप्त गरेका छन्। आगामी डिसेम्बर १४ मा इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) ले औपचारिक रुपमा राष्ट्रपतिलाई मतदान गर्नेछन् र त्यसभन्दा अघि नै सबै राज्यले इलेक्टोरल कलेजलाई प्रमाणीकरण गरिसक्नु पर्नेछ। 

तर ट्रम्पले चुनावी परिणामलाई अझै स्वीकार्न नचाहेका कारण राष्ट्रपतिको औपचारिक निर्वाचनमा अन्यौल कायमै छ। राष्ट्रपति ट्रम्पसहित उनको दल रिपब्लीकन पार्टीका बहुमत सदस्यले डेमोक्रेट उम्मेदवार बाइडेनलाई खुलेर समर्थन गरेका छैनन्। 

केही झिनो संख्याका रिपब्लीकन सदस्यहरुले मात्र चुनावी परिणामलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन्। 

पेन्सिल्भेनियाको अदालतको आदेश लगत्तै रिपब्लीकन पार्टीका तर्फबाट सिनेट सदस्य प्याट टूमीले बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचन जितेको र उनी नै संयुक्तराज्य अमेरिकाको ४६औं राष्ट्रपति हुने धारणा अघि सारेका छन्।

उनले राष्ट्रपति ट्रम्पले हार स्वीकार्नुको विकल्प छैन भन्दै बाइडेनलाई संक्रमणकालीन प्रक्रियामा सामेल गर्नुपर्ने पनि बताएका छन्।

चुनावी मतगणनामा पेन्सिल्भेनियामा बाइडेनले १ लाख ५५ हजारभन्दा बढी मतले ट्रम्पलाई पराजित गरेको देखिएको छ। 

प्रकाशित मिति: २२:५१ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्