क्रेताभन्दा विक्रेता हाबी, कहिले उठ्ला शेयर बजार माथि?
काठमाडौं, वैशाख २२ : लगानीकर्ताले रुचाएको चिलिमे हाइड्रोेपावरले लगानीकर्तालाई त्यत्ति खुशी नबनाउने खालको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक....
काठमाडौं, वैशाख २२ : लगानीकर्ताले रुचाएको चिलिमे हाइड्रोेपावरले लगानीकर्तालाई त्यत्ति खुशी नबनाउने खालको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै आइतबार हाइड्रोेपावर उपसूचकमा सबैभन्दा धेरै ४ दशमलव ३७ प्रतिशतको गिरावट देखियो। आज उत्पादन तथा प्रशोधन र अन्य उपसूचकबाहेक सबै उपसूचकमा गिरावट देखियो। बजार खुलेबाट नै निरन्तर ओरालो लागेको थियो।
आज बजारको खुला विन्दु र उच्च विन्दु एकै छन्। बजारले लगभग ‘इन्ट्राडे लो’मा बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १६ दशमलव ७१ ले घटेर १२७७ दशमलव ६८ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचक १ दशमलव २९ प्रतिशतले घटेकोे छ। आज दोस्रो बजार १२९४ दशमलव ३९ को विन्दुमा खुलेको थियो भने १२९४ दशमलव ५३ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२७६ दशमलव ७३ थियो। आज दिनभरमा ६५ करोड ०३ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने अघिल्लो कारोबार तुलनामा बढेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैँक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैँक लिमिटेडको ६ करोड २८ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने चिलिमे हाइड्रोेपावरका शेयरधनीले सर्वाधिक ७ दशमलव ६२ प्रतिशतले गुमाए।
हकप्रद गतिविधि
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद जारी गर्ने जेठ १४ गते विशेष साधारण सभा बोलाएको छ। प्रस्तावित ६० प्रतिशत हकप्रदपछि कम्पनीको पूँजी १ अर्बमाथि जानेछ। बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पूँजीको लक्ष्य दिएको थियो।
शेयर सूचीकरण
आज हिमालयन बैँक लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सोल्टी होटल लिमिटेड, मिसन डेभेलपमेण्टको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् भने स्पर्स लघुवित्तको प्राथमिक शेयर (आइपिओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन्।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १– नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख २२ गते बजार १२७७ दशमलव ७८ विन्दुमा बन्द भएको छ। आजको मैनबत्तीले बियरिस मारुबोजु आकृति बनाएको छ। यो आकृतिले बजारमा विक्रेताको चाप रहेको र अर्को दिनपनि बजार केही सच्चिन सक्ने संकेत गरेको छ। आजको कारोबारले मैनबत्तीलाई पनि समर्थन गरेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा १२८० मा रहेको भनिएको थियो। आज बजारले यही क्षेत्रमा टेवा प्राप्त गरेपछि १२८८ को उच्च विन्दु बनाउन सफल भएपनि त्यसपछि बजार १२८० भन्दा तल बन्द भएको छ। हिजो र आजको नेप्से प्रवृत्तिले फलिङ्ग वेजेजको आकृति बनाएको देखिन्छ र बजार हाल टेवा क्षेत्रमा रहेको देखिन्छ।
५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति तल रहेकाले बजार हाल सच्चिरहेको र यो ईएमए प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स २३ दशमलव ४७ अंकमा रहेको छ। यसले बजारको पछिल्लो समयमा शेयर बढी विक्री भएको र अन्तिम समयमा क्रेताको केही चाप रहेको संकेत गरेपनि निश्चित रुपमा बजार बढी हाल्ने संकेत भने गरेको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले पनि बजारमा शेयर बढी विक्री भएको संकेत गरेपनि बजार बढी हाल्ने देखिँदैन।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुका आधारमा बजार सच्चिरहेको देखिए पनि चित्र नं. २ मा देखिएबमोजिम यदि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहन सकेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। तत्कालीन प्रतिरोध १२९५ देखि १३०० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार तल्लो प्रवृत्ति रेखाभन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२६० मा रहेको देखिन्छ।