मोरङमा कोरोना संक्रमणबाट दुई बृद्धको मृत्यु
विराटनगर, मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जना बृद्धको मृत्यु भएको छ।आज बिहान उपचारका क्रममा मोरङका कोभिड अस्पतालमा ७० वर्षीय भारतीय...
विराटनगर, मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जना बृद्धको मृत्यु भएको छ।
आज बिहान उपचारका क्रममा मोरङका कोभिड अस्पतालमा ७० वर्षीय भारतीय नागरिक र झापाको गौरादहका ६३ वर्षीय बृद्धको मृत्यु भएको हो। भारतीय नागरिकको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र झापाका बृद्धको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
भारतको साहेवगञ्जका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान ६ः५० बजेतिर मृत्यु भएको विराट शिक्षण अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए।
यसैगरि, झापाको गौरादह–८ का ६३ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा आज बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा स्वाब परीक्षण गर्दा बिहीबार संक्रमण देखिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।











