हिमपातको कारण लेकमा अलपत्र परेका दुई जना चारदिनपछि सम्पर्कमा
खलंगा, मंसिर ४ : तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन्। अलपत्र पर्नेमा...खलंगा, मंसिर ४ : तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन्। अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह हुन्।
मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताए। गत कात्तिक २९ गते जाजरकोटबाट हिँडेका सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेका थिए।
कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर १ गते राति आफूहरु दुई जना जाजरकोट फर्केको सिंहले बताए। उनीहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मंगलबार सम्पर्कमा आइसकेको प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिए।
अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको छ। चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए। भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ। सम्पर्कमा आएका सिंहले भने, ‘कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ। ”