Kathmandu Press

सन्दीपले अस्ट्रेलियाको बीबीएल होबर्ट हुरिकेन्सबाट खेल्ने

काठमाडौं, मंसिर ४ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले १०औं संस्करणको बिग बास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।अस्ट्रेलियाको टि २० फ्रेन्चाइज...
सन्दीपले अस्ट्रेलियाको बीबीएल होबर्ट हुरिकेन्सबाट खेल्ने

काठमाडौं, मंसिर ४ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले १०औं संस्करणको बिग बास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।

अस्ट्रेलियाको टि-२० फ्रेन्चाइज लिग बीबीएलका लागि हुरिक्यान्सले सन्दीपलाई अनुबन्ध गरेको हो। सन्दीपलाई यस सिजनका लागि अनुबन्ध गरेको हुरिकेन्सले जनाएको छ।

यस अघि सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए। दुई सिजन मेलबर्नबाट खेलेका सन्दीप यसपटक हुरिकेन्ससँग आबद्ध भएका हुन्।

हुरिकेन्सले बिहीबार सन्दीप आबद्ध भएको घोषणा गरेको छ। सन्दीपले पनि हुरिकेन्ससँग खेल्न उत्साहित रहेको बताएका छन्।  'बिबिएल-१० का लागि होबर्ट हुरिकेन्स परिवारमा जोडिन पाउँदा सम्मानित भएको महसुस भएको छ। मलाई अस्ट्रेलियाबाट सधैं धेरै माया र समर्थन आइरहेको छ,' सन्दीपले भनेका छन्, 'स्तरिय प्रतियोगिता बिबिएल उत्साहजनक छ, ब्लन्डस्टोन एरेनामा खेल्न आतुर छु।'

हुरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले पनि सन्दीप टिमको बलिङ आक्रमणका लागि एक्स फ्याक्टर हुने बताएका छन्। सन्दीपसँग सम्झौता गरेसँगै टिम पूर्ण भएको हुरिकेन्सले जनाएको छ।

हुरिकेन्समा सन्दीपसँगै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन र वेस्ट इन्डिजका किमो पाउल छन्। यो टिममा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्टलगायतका खेलाडी रहेका छन्।

यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन्। यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो।

यो सिजनको बीबीएल डिसेम्बर १० अर्थात् मंसिर २५ गतेदेखि सुरु हुँदै छ।

 

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्