प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने
काठमाडौं, मंसिर ३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो छुट्टै राजनीतिक प्रस्ताव...
काठमाडौं, मंसिर ३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्। उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा यसअघि पेश गरेको प्रतिवेदनमाथि जवाफ दिन आफूलाई केही समय लाग्ने बताएका थिए।
अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उठाएका प्रश्नहरुको जवाफ दिन आफूलाई केही दिन समय आवश्यक पर्ने बताएपछि सचिवालयको बैठक मंसिर १३ गते बस्ने गरी स्थगित भएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पनि सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी दिए। ‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीज्यूले आफूले सचिवालयमा प्रतिवेदन पेश गर्ने भन्नु भएको छ,’ बैठकपछि श्रेष्ठले भने,‘ उहाँको प्रतिवेदन, यसअघि पेश भएका प्रतिवेदन लगायतका विषयमा मंसिर १३ गते बस्ने बैठकमा छलफल हुनेछ।
उनले पार्टीको संकट र निवारण सम्बन्धमा, यसअघि प्रस्तुत सबै प्रस्ताव र अध्यक्ष ओलीको प्रस्तावका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न अर्को बैठकमा गरिने बताए।











