नेकपाको केन्द्रीय कमिटी बैठक पनि १० दिनपछि सर्यो
काठमाडौं, मंसिर ३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक १० दिनपछि धकेलिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको...
काठमाडौं, मंसिर ३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक १० दिनपछि धकेलिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि नेकपाले मंसिर १५ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।
‘आजको बैठकले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकको कार्यतालिका परिवर्तन गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘ अब स्थायी कमिटीको बैठक मंसिर १८ गते र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बस्नेछ।’
यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पनि सचिवालय बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने जानकारी दिए। ‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीज्यूले आफूले सचिवालयमा प्रतिवेदन पेश गर्ने भन्नु भएको छ,’ बैठकपछि श्रेष्ठले भने,‘ उहाँको प्रतिवेदन, यसअघि पेश भएका प्रतिवेदन लगायतका विषयमा मंसिर १३ गते बस्ने बैठकमा छलफल हुनेछ।
उनले पार्टीको संकट र निवारण सम्बन्धमा, यसअघि प्रस्तुत सबै प्रस्ताव र अध्यक्ष ओलीको प्रस्तावका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न अर्को बैठकमा गरिने बताए।











