भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रिपति बाइडेनबीच फोन वार्ता
नयाँदिल्ली, मंसिर ३ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन्।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै...
नयाँदिल्ली, मंसिर ३ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन्।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थिए।
बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा सँगसगै मिलेर काम गर्न चाहेको बताएका थिए।
भारत र अमेरिकाबीचको सम्वन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउनका लागि रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनु पर्नेमा समेत उनले जोड दिएका थिए।
मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु। फोन वार्ताका क्रममा सहकार्य गर्ने र अपसी सम्वन्धलाई अझ बलियो बनाउने बारेमा पनि सकारात्मक छलफल भएको छ, मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
विगतका सहमति तथा सम्झौता, कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द–प्रशान्त क्षेत्र लगायतका बारेमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन्।
उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि न्यानो बधाई भन्नु भएको छ। भारतीय मूलकी अमेरिकी नागरिक ह्यारिस विजयी भएकोमा भारतीयहरु नागरिकस्तरबाट पनि यस अघि नै खुशियाली व्यक्त भइरहेका छन्।
उनी विजयी हुनुले अमेरिका र भारतको सम्वन्ध र सहकार्यलाई थप सहज र शसक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन्।












