परीक्षण कम भएसँगै घटे कोरोनाका संक्रमित
काठमाडौं, मंसिर २ : पीसीआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि कम देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस...
काठमाडौं, मंसिर २ : पीसीआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि कम देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ५०२ जनामा संक्रमण देखिएको छ। तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन्।
सोमबार ४ हजार ८३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १९७ जनामा संक्रमण देखिएको थियो। नयाँ संक्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन्। यस्तै ३० हजार ९८६ सक्रिय संक्रमित रहेका छन्।
मंगलबार देखिएका संक्रमितमध्ये ३३९ जना उपत्यकाका छन्। तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन्। प्रदेश १ मा आठ, प्रदेश २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा संक्रमण देखिएको छ।
यस्तै, संक्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ। आइसियुमा प्रदेश १ मा ४३, प्रदेश २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन्।
भेन्टिलेटरमा प्रदेश १ मा सात, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन्। रासस











