सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो
धनगढी, मंसिर २ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या...
धनगढी, मंसिर २ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ।
सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या १० हजार ५३५ पुगेका छन्। तीमध्ये आठ हजार ८१३ संक्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा पाँच जना उपचाररत छन्।
यो रोगको संक्रमणबाट अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी प्रदेशको राजधानी कैलालीमा १७ जनाको मृत्यु भएको छ। यस्तै, बझाङमा तीन, अछाम, बाजुरा, कञ्चनपुर र डडेलधुरामा दुई–दुई र बैतडी, दार्चुला र डोटीमा एक–एक जनाको मृत्यु भएको छ।
पछिल्लो दुई हप्तायता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुने दर बढ्दै गएको छ। यो अवधिमा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
संक्रमितमध्ये होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन। तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ। रासस











