बेलायती प्रधानमन्त्री जोनसन पुनः ‘आइसोलेसन’मा
काठमाडौं, मंसिर २ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती...
काठमाडौं, मंसिर २ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।
प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् । उनी सेल्फ आइसोलेसनमा भएपनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने उनले आइसोलेसनबाटै गर्ने जनाइएको छ । “प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उनलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, उनलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने ।
प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात विताएका थिए । उनलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनलाई एनएचएसले परिक्षण र हेरचाह गर्ने, उनले अवस्थाका बारेमा निरन्तर निगरानी गर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार प्रधानमन्त्री जोनसोन झण्डै दश दिन ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने र यही नोभेम्बर २६ पछि मात्रै उनी बाहिर निस्कन सक्ने सम्भावना रहेको छ । अरु सासदहरुले पनि आफुहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएर आइसोलेसनमा बसेको जानकारी दिंदै आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आह्वान गरेका छन् ।












